बलात्कार र हत्याकाविरुद्ध राजधानीमा प्रदर्शन (फोटो फिचर)



काठमाडौँ। बलात्कारीपछि हत्या गरिएकी १२ वर्षिया सम्झना कामीको बलात्कारीलाई फाँसीको सजायको माग गर्दै आज पनि माईतिघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

विभिन्न पार्टीमा आवद्ध विद्यार्थी र विभिन्न सरोकारवाला संघ संस्थाले खुकुलो कानुन चाहिँदैन, महिला हिंसा गर्न पाईदैन, सम्झना कामीलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाएका थिए।

उनीहरुले आफ्नो नांगो शरीरमा जष्टिज फर सम्झना, निर्मला, बलातकारीलाई फाँसी दे जस्ता नारा लेखि शरीरभरी रातो रंग पोतेका थिए। विरोधमा संलग्न प्रदर्शनकारीहरुले बालिका र महिलाहरुको सुरक्षामा ध्यान देऊ, सरकार मैले कहिले न्याय पाउने, बलात्कार र हत्याको बरबरता, एक्काईसौं सताब्दीको सभ्यता जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

गत बुधबार विभत्स अवस्थामा भेटिएकी सम्झनाको पोस्टमार्टमबाट बलात्कारपछि हत्या भएको खुलेको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा २० वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेको छ।

घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या भएको थियो। सम्झना मष्टा निमाविमा कक्षा ६ मा अध्ययन गर्थिन्। घरकी ठूली छोरी सम्झना हजुरबुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु भने रोजगारीका लागि भारतमा गएका छन् ।