‘बलात्कार र हत्याको विषयमा कठोर बन्नुपर्ने बेला भयो’



काठमाडौँ। गत हप्ताको बुधकार (७ असोज २०७७) बझाङकी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भएपछि देशभर आन्दोलन भइरहेका छन्।

आइतबार नेपाली कांग्रेस केन्द्रीय महिला विभागले आइतबार संघीय राजधानी काठमाडौँमा विरोधसँगै सडक बहस गरेको छ। यसै क्रममा वागमती प्रदेशकी सांसद कल्पना नेपालीले दिनानुदिन बालबालिकाहरु असुरक्षित बनेको बताउँदै यस विषयमा गम्भीर बन्नुपर्ने बताएकी छन्।

सांसद नेपालीले भनिन्, ‘नेपालमा छोरी जन्मिनु भनेको यसरी नै बलात्कृत र हिँसा सहनको लागि हो? बझाङकी १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्याको घटनाले हामीलाई झनै त्रसित बनाएको छ। हजुरबा र हजुरआमासँग बस्दै आएकी सम्झनाका बाआमा भारतमा चौकीदार गरी घर अर्च जुटाइरहेका रहेछन्। यस्तो अवस्थाका बालबालिकाहरुमाथि भएको जघन्य अपराधमा संलग्नलाई कानूनअनुसार कडा कारबाहीको माग गर्दछु।’

टाउकोमा कालो पट्टि बाँधेर सडकमा उत्रिएकी नेपालीले भनिन्, ‘नेपालमा केही महिलाहरु देशका ठूला पदमा पुगेपनि अधिकांश महिला तथा बालबालिकाहरुको अवस्था नाजुक छ। हामीले संसदमा महिला हिँसा अन्त्य र समतामुलक समाज निमार्णका लागि बारम्बार भाषण गर्ने गछौं। तर, समस्या झन बढिरहेका छन्। त्यसैले अब भाषण गरेर मात्रै यो देशमा महिलाका लागि, बालिकाको लागि सुन्दर र सुरक्षित हुँदैन। त्यस कारण हामीले सडक संघर्ष र कानून व्यवस्थालाई थप कडा बनाउने तर्फ ध्यान दिन जरुरी छ।’

पथ्रले हान्नेलाई फूलले हान्न नसकिने बताउँदै सांसद नेपालीले अन्याय र अत्याचारका विरुद्ध सम्पूर्ण नेपाली महिलाहरु कुनै राजनीतिक दल, यो वा त्यो नभनि एकजुट भएर संघर्ष गर्नुपर्ने समय आएको बताईन। उनले भनिन्,‘मृत्युको बदला उन्मुक्ति, पथ्थरले हिर्काउनेलाई फूलले हान्न सकिँदैन। हामीले कठोर बन्नुको विकल्प छैन।’