काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो। काठमाडौँ उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ।
काठमाडौँमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ। यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ। आज नेपालमा १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ। १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुषमा संक्रमण देखिएको हो।
आज काठमाडौँमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।