कोरोना संक्रमणबाट क्याम्पस प्रमुखको मृत्यु


बाँके। बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होमआइसोलेशनमै बस्दै आएका थिए।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उनको निधन भएको भेरी अस्पताले जानकारी दिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताएका छन्।

मृतक क्याम्पस प्रमुखको शनिबार बेलुकी नेपाली सेनाले बबई नदीको भादा घाट गुलरियामा शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। बर्दियामा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको ज्यान गइसकेको छ।