“पेशागत व्यक्ति बाहेक अरुलाई एसीड खरिद बिक्रीमा रोक लगाउनुपर्छ”



तेजाव आक्रमण सम्बन्धी घटनालाई न्यूनीकरण गर्न फौजदारी कानूनका केही ऐनहरुलाईन संसोधन हुने गरि सरकारले कानून निर्माण गर्ने भएको छ। जसमा अपराधको प्रकृति हेरी १० वर्षदेखि २० वर्ष वा जन्मकैद र १० लाखसम्मको जरिवानाको हुने व्यवस्था गरिएको छ।

तेजाव आक्रमणकारीले तेजाव आक्रमण गर्दा तेजावले नछोएमा पनि मनसाय हेरि ज्यान मार्ने उद्द्योगमा मुद्दा लाग्न सक्ने भनिएको छ।

साथै एसीड आक्रमण पीडितहरुको निम्ति नि:शुल्क उपचार, कृषि अनुदान, योग्यता हेरि आगामी शिक्षा प्राप्तिको लागि सहयोग गर्ने, अनिवार्य रोजगारिको ब्यबस्थापन गरिदिने व्यवस्था स्वागत योग्य छ। त्यही बन्ने कानून अनर्गत सरकारले गर्ने नियमनमा एसीड बिक्रेताको लागि कडा व्यवस्थापन र केही मापदण्डहरु तोकिएको छ।

एसीड उत्पादक तथा बिक्रेताले प्रमुख जिल्ला अधिकारिसङग बिक्री वितरणको लाइसेन्स लिनुपर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने, बिक्रेताले आफुसङग भएको एसीडको परिमाण र बेचबिखनको तथ्यांक राख्नुपर्ने ब्यबस्था गरिएको छ।

एसीड आक्रमणको घटनालाई बिक्री सम्बन्धी यस कानूनले पक्कै पनि कम गर्नमा सघाउ पुर्याउने विश्वास छ। एसीड खरिदकर्ताको सवालमा भने परिचयपत्रको प्रतिलिपी, प्रयोजनको उद्देश्य, फोन नम्बर राख्मुपर्ने कानून बनाएको छ।

तर एसीड आक्रमणको घटनामा उत्पादक वा बिक्रेताभन्दा पनि थोरै परिमाणमा खरिद गर्ने क्रेताहरु नै एसीड आक्रमणकारी हुने गरेको पाइन्छ। विश्वमा र नेपालको सन्दर्भमा हेर्दा एसीड आक्रमणको प्रकृति तथा मनसाय घटना घटाउन पुर्ण रुपले तल्लिन देखिन्छ।

घटनाको सफलतापछि उसलाई कानूनी कामकारबाहीको कुनै परवाह भएको देखिन्न। उसलाई सजाएको भयभन्दा पनि बदला लिन सफल भएकोमा आनन्द मानेको देखिन्छ। यस्तो अवस्थामा अपराधीले कुनै पनि बहानाबाजिमा एसीड खरिद गर्न सक्छ। कानूनको भय नहुनेले आफ्नो परिचय पत्र, फोन नम्बर दिएर एसीड खरिद गर्न सक्ने स्पष्ट देखिन्छ।

त्यसैले पेशागत व्यक्तिले बाहेक अन्य व्यक्तिले यसको खरिद गर्न पुर्णरुपले बन्देज गरिनुपर्छ। यसका निम्ति सरकारले समयमै ध्यान दिनुपर्ने हुन्छ। एसीड सम्बन्धि कानून बनाउनु पहिले यस्ता कुरामा सरकार गम्भीर हुनपर्छ।

घरायसी प्रयोजनको नाममा सजिलै जो कोहीले पनि खरिद गर्न सक्ने हुँदा त्यस्तो कामको लागि तेजावको बिक्री वितरण गर्नु हुँदैन। त्यस्तो कामको लागि अनिवार्य प्लम्बर मार्फत नै गर्नुपर्ने व्यवस्था गर्नुपर्छ। अपराधी जो कोही पनि हुन सक्छ।                                                                            तर, दोस्रो व्यक्ति तथा पेशाकर्मी मार्फत तेजाब पाउन त्यति सजिलो हुँदैन। जसले गर्दा अपराधलाई पुर्णरुपमा रोक्न नसके पनि अपराधीले सजिलै सफलता हाशिल गर्न सक्दैन। यसतर्फ सरोकारवालाहरुले ध्यान दिनुपर्ने हुन्छ।

(लेखक लामा नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय  सदस्य हुन्।)