काठमाडौँ। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट त्राहिमाम बनेको नेपालीहरु रोगले मर्ने डरले स्वदेश फर्किए।
सुदूरपश्चिम प्रदेशका नागरिकहरु महिनौं सीमाना बसेर आन्दोलन गरे। कोही कोहीले त देश प्रवेश गर्न नपाएको झोकमा महाकालीमा हाम फालेर पनि देश प्रवेश गरेका दृश्यहरु देख्न पाइयो। भारतका विभिन्न स्थानबाट हप्तौं हिडेर पनि सीमासम्म आएका थिए।
यता सुनौली नाकाबाट त रुदै नेपालीहरु उत्तै भारततिर फर्किएका पनि थिए। रोगले मर्नुपरे पनि आफ्नै देशमा आएका नेपालीहरु विगत ६ महिनादेखि लकडाउन र निषेधाज्ञामा बसे। अन्नतः त्यसरी घर फर्केका नागरिकहरु पुनः भारततर्फ हानिन बाध्य बनेका छन्।
पहिले रोगले मर्ने चिन्ताले स्वदेश फर्केका नेपालीहरु अहिले भोगले मर्ने चिन्ता सिर्जित बनेको भन्दै लामका लाम मजदुरहरु भारत पस्न थालेका छन्। सुदूरपश्चिका विभिन्न नाकाबाट चाँडवाड र कोरोना महामारीको वास्ता नगरेर आफ्ना जीवन धान्न भारत प्रवेश गर्नेहरुको संख्या डर लाग्दो छ।
सरकारले स्वदेशमा उनीहरुको सुरक्षा र संरक्षण गर्न नसक्दा पुनः उनीहरु भारत पस्न लागेको बताइरहेको देखिन्छ। सरकारले पीडितहरुको लागि कुनै कार्यक्रम नल्याएका कारण पनि उच्च महामारी फैलिरहेको भारतमा जाने आँट गरिरहेका छन्।
यसरी भारत हानिनेमा केवल युवाहरु र पुरुषहरु मात्रै छैनन् स्कुले विद्यार्थीदेखि महिला बालबालिका पनि छन्। घर खर्चसमेत धान्न र बिहान बेलुकाको छाक टार्न धौधौ भएपछि उनीहरु महामारीका बीचमा पनि भारत प्रवेश गर्न लागेको बताउछन्।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट दिनमा १५ सयदेखि २ हजार नेपालीहरु कालीपार गरिरहेका छन्। यो समय नेपालीहरु आउने समय हो। तर, यस वर्ष भने ठिक उल्टो भइरहेको अधिकारीहरु बताउछन्।