कर्णालीमा थप २९ जना कोरोना संक्रमित थपिए


सुर्खेत। बितेको २४ घण्टामा कर्णालीमा थप २९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुुकम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शुक्रबार थप २९ जनामा संक्रमण पुष्टि भएको हो। थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३१६ पुगेको छ।

नयाँ संक्रमितमध्ये सल्यानका १४ जना, सुर्खेतका ८ जना, रुकुम पश्चिम ५ जना, दैलेख र अछामका एक÷एकजना रहको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप ४४ जना कोरोनामुक्त भएका छन्। प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७९५ पुगेको छ। प्रदेशभर हालसम्मा ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ।