चीनतर्फको ११ नम्बर फिल्लर भेटियो



हुम्ला। लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए।

उनका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए। ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुने भएको छ,’ उनले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ।’

स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ। पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए।

उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन। यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।