सरकारले भन्यो, ‘हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको छैन’



काठमाडौँ। सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छन्।

पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

मन्त्री ज्ञवालीका अनुसार हालको जस्तै विवाद २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ।’

अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । सञ्चारकर्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले उनले आग्रह गरे। परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘कहीँ कतै समस्या देखा परे भने पनि बसेर छलफल गर्ने सौहार्द सम्बध छँदैछ।’