काठमाडौँ। चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको र भवन निमार्ण नगरेको दाबी गरेको छ।
उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ। हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन। दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन्।’ नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ।