बाबुरामको प्रश्न: ‘सरकार किन कानमा तेल हालेर बसेको?’



काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

उनका अनुसार चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामा अलपत्र परेका छन्। लामो समयदेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने डा.भट्टराईको भनाइ छ। यस्तो स्थिथिमा सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ।

उनले आज विहान ट्वीटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ। व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन्। सरकार किन कानमा तेल हालेर बसेको हो?’

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्दछन्। रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको छ।

यस्तै तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने एक ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ । नाका बन्द हुँदा चीनबाट आयात गरिएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल प्रवेश गर्न पाएका छैनन्।

यसअघि २०७२ सालको भूकम्प र भारतले गरेको नाकाबन्दीको बेलामा पनि चीनले नेपालसँग जोडिएका ब्यापारिक नाका बन्द गर्दा नेपालीहरु मर्कामा परेका थिए।