चीनद्वारा निमार्ण गरिएका भवनको निरीक्षण गर्न नेपाली टोली नाम्खामा



हुम्ला। चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरिएको समाचार बाहिरपछि त्यस क्षेत्रको निरीक्षण गर्न नेपाली टोली खटिएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा शनिबार अनुगमनका लागि नाम्खा गाउँपालिका ६, लिमी गएको हो। टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षलगायत छन्।

नेपाली भूमि लिमीको लाप्चा बगरमा चीनले नौ वटा भवन निर्माण गरेको समाचार यसअघि सञ्चार माध्यमले प्रकाशित गरेका थिए। नेपाली भूभागमा बनेका ती भवन कुन प्रयोजनाका लागि बनेको हो भन्ने खुलेको छैन।

भवन निर्माण भएको ठाउँभन्दा झण्डै दुई किलोमिटर अगाडि डाँडामा १२ नम्बर सीमास्तम्भ रहेको छ। यसअघि २०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि विरोध भएपछि निर्माण कार्य रोकेको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए।