काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले मन्त्रिपरिषद् पुनर्गठनलगायत चारवटा कार्ययोजनमा केन्द्रीत रहेर छलफल थालेको छ।
जसमध्ये मन्त्रिपरिषद पुनर्गठनको विषय नेकपा सचिवालय बैठकको पहिलो कार्ययोजनमा परेको छ। मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ।
आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको नेकपा सचिवालय बैठकमा नेताहरुले मन्त्रिपरिषद पुनर्गठन गर्दा अपनाउन सकिने तीनमध्ये एक विकल्पलाई आधारविन्दुु बनाउन सकिनेमा आफ्नो धारणा राखेका हुन्।
यस्ता छन् तीन विकल्प
पहिलो विकल्पः तीन विकल्पमध्ये पहिलो विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउने र सबै नयाँ राख्ने विषयमा छलफल भयो।
दोस्रो विकल्पः सुरुमा मन्त्री भएकालाई हटाउने र पछिल्लो पटक गएकालाई यथावत राख्दै हटाएका स्थानमा नयाँ अनुहारलाई लैजाने।
तेस्रो विकल्पः तेस्रो विकल्पमा शुरुमै मन्त्री भएका पनि राम्रो काम गर्नेहरुलाई राख्ने र राम्रो काम गर्न नसकेकाहरुलाई मात्र हटाएर उनीहरुको ठाउँमा क्षमतावानहरु छानेर समावेशी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने।
रोतोपाटीका अनुसार ती सदस्यकाअनुसार आइतबारको छलफलको स्प्रिट पहिलाका सबै हटाउने र सबै नयाँ राख्ने भन्ने नभएकाले यो सरकार गठन भएकै बखत मन्त्री भएकाहरु, जो राम्रो काम गरिरहेका छन् उनीहरुलाई यथावत नै राख्नुपर्छ भन्नेमा अधिकांश सदस्यहरु सहमत भएका छन्
‘पहिलाका सबै हटाउने र उनीहरुको ठाउँमा सबै नयाँ राख्ने भन्ने त हुँदैन। आइतबारको छलफलको स्प्रिट त्यस्तो होइन। राम्रो काम गरेकालाई राख्ने, बाँकीमा नयाँ राख्ने भन्ने हो’ ती सदस्यको भनाई छ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएपनि कसलाई हटाउने र कसलाई पठाउने भन्ने पात्रका बारेमा छलफल नभएको बताए। ‘आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको छ, तर कसलाई पठाउने र कसलाई हटाउने भन्ने मापदण्ड यहि हुन्छ भन्ने भैसकेको छैन। यसमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ’ प्रवक्ता श्रेष्ठको भनाई छ।
प्रवक्ता श्रेष्ठले संवैधानिक आयोगहरुमा गरिने राजनीतिक नियुक्तिका विषयमा समेत सरकारलाई निर्णय गर्न सजिलो हुनेगरी छलफल भएको जानकारी दिए । तर संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने विषयमा पनि निर्णय भैनसकेको उनले बताए।
नेकपा बैठकको कार्ययोजनामध्ये तेस्रो कार्ययोजना पार्टी एकताका बाँकी काम पुरा गर्ने तथा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने रहेको छ । त्यस्तै केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल भएको छ ।
नेकपामा हाल ४४० जना केन्द्रीय सदस्य छन् । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा विभिन्न कारणले ७ जना केन्द्रीय सदस्यको पद रिक्त छ। बंशिधर मिश्र, समिममिया अन्सारी, तिलक परियार, रविन्द्र अधिकारी, धर्मनाथ यादव, डिआर पौडेललगायतको पद रिक्त छ। त्यस्तै नेकपाको केन्द्रीय समितिमा १० प्रतिशत मनोनयन गर्न सक्ने व्यवस्था छ । त्यसमध्ये चार जनालाई मनोनयन गरिएको छ।
त्यस हिसाबले अब झण्डै ४५ जना केन्द्रीय सदस्य थपिने छन्। त्यस्तै, स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा सभामुख भएपछि ४५ सदस्यीय नेकपाको स्थायी समितिमा हाल ४४ जना सदस्य मात्र छन्। सापकोटा सभामुख भएपछि रिक्त स्थायी समितिमा एक जनालाई लैजानुपर्ने हुन्छ । रिक्त स्थायी समिति सदस्य पदमा तत्कालिन सभामुख कृष्णबहादुर महरालाई लैजाने सम्भावना बढि रहेको नेकपाका नेताहरुको भनाई छ । यद्यपि, यसबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाई छ ।