‘डा.केसीको स्वास्थ्य अवस्था तलमाथि भए त्यसको मूल्य सरकारलाई भारी हुनेछ’



जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले स्वास्थ्य शिक्षामा हरेक नागरिकको समान पहुँच र उपस्थितिको सुनिश्चितताको माग राख्दै १९औं पटक अनशन बसेका डा. गोविन्द केसीलाई स्थानान्तरण गर्न माग गरेका छन्।

गत भदौ २९ गतेदेखि जुम्लाको रानिचौरस्थित बाबिरामष्टा मन्दिर परिसरमा जारी केसीको सत्याग्रहप्रति ऐक्यवद्धता जनाउँदै नेता शाहीले सरकराको गम्भीर ध्यानाकर्षण गराएका छन्।

साथै नेता शाहीको नेतृत्वमा सत्याग्रह स्थलमा हस्ताक्षर कार्यक्रम शुरु गरिएको छ। स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका निम्ति आफ्नो जीवनको प्रवाह नगरि न्याय नपाएका लाखौं नागरिकको आवाजलाई बुलन्द गरिरहेका केसीलाई नेता शाहीले नेपाली जनताका भरोशाका एक खम्बाको रुपमा चित्रण गरेका छन्।

नेता शाहीले डा. केसीले उठाएका मागहरु जनपक्षीय र जायज भएको दाबी गर्दै सरकारलाई तत्काल उनका मागहरु सम्बोधन गर्न आग्रह गरेका छन्।

उनले भने, ‘डा.केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरू आफूलाई समाजवादी भन्ने कम्युनिष्ट सरकारको आफ्नै एजेण्डा हुनुपर्ने हो। तर, विडम्वनाको कुरा सामान्य अवस्था होस् या अहिले कोभिड १९ को असामान्य अवस्थामा सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरि चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ। यस्तो अवस्थामा डा.केसीको स्वास्थ्य तलमाथि भयो भने त्यसले जनताको धैर्यताको बाँध टुटाउने छ र त्यसको मूल्य सरकारका लागि भारी हुनेछ।’

त्यस्तै यस अघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा.केसीको स्वास्थ्य यो पटक सत्याग्रहको ६ दिनमैँ ‍नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उनलाई तुरून्तै सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।