गणेशमान स्मृति दिवसमा नेविसंघ काठमाडौं समितिद्वारा दीप प्रज्वलन



काठमाडौँ। नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकामा दीप प्रज्वलन गरी लौह पुरुष गणेशमान सिंहको २३औं स्मृति दिवस मनाएको छ।

जनआन्दोलन ०४६ का सर्वोच्च कमाण्डर एवं सर्वमान्य नेता स्व. गणेशमान सिंहको २३औं स्मृति दिवस शुक्रबार दीप प्रज्वलन गरी मनाएको मनाएको हो। विसं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो।

लौह पुरुषका नामलेसमेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए। सिंहको स्मृति दिवसका अबसरमा नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकास्थित सिंहको पूर्णकदको शालिक दीप प्रज्वलन गरेको थियो।

कार्यक्रममा सहभागीहरुले नेपालको परिवर्तनमा सिंहले खेको भूमिकाको स्मरण गरेका थिए। नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले पञ्चायत शासनलाई विस्थापन गर्न र महेन्द्रको प्रजातन्त्रमाथिको कू बिरुद्ध लड्न खेल्नुभएको भूमिकाको चर्चा गर्दै नेपाली राजनीतिमा सिंहले गरेको त्यागको बाटो सबैले लिनुपर्ने बताए।

ढुङ्गानाले भने, राणा शासन विरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कूसम्म स्वर्गीय सिंहको महत्वपूर्ण सहभागी रहेको थियो।

ढुङ्गानाले २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनुभएको चर्चासमेत गरे।