कविता: अधिकार



शीर्षकः अधिकार

मैले जन्मदिनको अवसरमा
आफ्नी छोरीलाई
सम्झाउदै भनेको थिएँ
यदि अधिकार मागेर पाइएन भने
खोसेर पनि लिनुपर्छ भनेर।

त्यसको दुई दिन पछाडी
छोरीले भनेकी थिई
बाबा
मलाई एउटा नाकमा लगाउने फुली चाहियो
मैले उसलाई कुनै जवाफ फर्काएको थिइन।

त्यसको पनि ठिक दुई दिन पछाडी
अर्थात आज बिहानै
छोरीले खोसेर ल्याइछ
एउटी अवला नारीको
शरीरबाट गहना
म अझैंसम्म अवाक छु।
उसले अधिकार खोसेकी हो या गहना ?