डा. केसीको १९औं अनशनमा कांग्रेस नेता शाहीको ऐक्यवद्वता



जुम्ला। गत सोमबारदेखि स्वास्थ्य शिक्षा क्षेत्रको सुधारका निम्ति १९औं पटकको अनशन सुरु गरेका डा. गोविन्द केसीको अभियानलाई नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले ऐक्यवद्वता जनाएका छन्।

बिहीबार जुम्लाको बाबिरा मस्टो मन्दिरमा अनशनरत डा. केसीलाई भेटेर नेपाली कांग्रेस जुम्लाका युवा नेता शाहीले ऐक्यवद्वता जनाएको जानकारी दिएका छन्। उनले भने, ‘१९औँ सत्याग्रह गरिरहनु भएका डा.गोविन्द केसीलाई भेटेर अनशनमा ऐकेबद्धता जनाएको छु।’

उनले अगाडि भने, ‘न्याय नपाएका लाखौं नागरिकको बुलन्द आवाज, गरिब, दुखीका भाग्य बिधाता, नेपाली जनताका भरोशाका एक खम्बा आवाज विहीनहरुको आवाज बनिरहनु भएका केसीलाई अन्यायमा परेकाहरुको आवाज बोलिरहनु होला भनेर सुझावसमेत दिएको छु। डा. केसीको अभियान कुनै अमुक राजनीतिक दल र व्यक्ति विशेषको होइन। यो त आम नेपाली जनताको स्वास्थ्य शिक्षासँग जोडिएको विषय हो। यसमा मेरो पूर्ण सहमति छ।’

साथै नेता शाहीले डा. केसीका मागहरुलाई सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन्। उनले भने, ‘स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनलगाएतका सम्पुर्ण मागहरुप्रती सहमत हुँदै सरकारले छिटोभन्दा छिटो मागहरु पुरा गरोस्। १९औं सत्याग्रह सफलताको शुकामना।’

डा. केसीले गत सोमबार विभिन्न ६ बुँदे मागसहित जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा १९औं आमरण अनशन थालेका हुन्। विभिन्न माग राखेर पटक(पटक सरकारलाई अल्टिमेटम दिँदै आएका डा. केसीले बन्दाबन्दी शुरु हुनु अघिदेखि कर्णालीका विकट जिल्लामा औषधि उपचार गर्दै हिँडेका थिए।।

सत्याग्रहका मागहरू

१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसलगायतका कार्यक्रमहरू संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गरियोस्। प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्।

यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।