काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई विदाइ गरिएको छ। गत आइतबार ४ वर्षे कार्यकाल पूरा गरेका घिसिङलाई मंगलबार एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन्। विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन जानु समान्य प्रक्रिया भएको बताएका छन्।
कर्मचारीले प्राधिकरणमा रातको १०/१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको स्पष्ट पारेका छन्। उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको बताएका छन्।
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने विषयले बजार तातेको छ।
२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए।
चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन विभिन्न क्षेत्रबाट माग भएको छ।