काठमाडौँ। सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाको विरोधमा कोटेश्वरका व्यापारीहरु प्रदर्शनमा उत्रेका छन्।
लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले मंगलबार प्रदर्शन गरेको हो। निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने संघको माग छ।
प्रदर्शनकारीहरुले ६ महिनाको घरभाडा कसले तिर्ने ?, रोगले होइन भोकले मार्दैछ, बन्द अवधिको कर, मिनाह गर, बैंक तथा वित्तिए संख्याको ब्याज मिनाह गर, निवार्ध रुपमा व्यवसाय सञ्चालन गर्न दे, कर जरिवाना मिनाह गर,औचित्यहिन निषेधाज्ञा खारेज गरलगायतका नाराहरु लेखिएका पोष्टरहरु बोकेका थिए।
बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ। केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै आएको छ। महासंघले केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेर आफ्ना मागहरु पूरा गर्न ध्यानाकर्षण गराएको थियो।
त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि आफ्नाहरु पूरा गराउन भूमिका खेलिदिन आग्रह गरेको थियो। सोमबारमात्रै पनि महासंघले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईलाई भेटेर आफ्ना मागहरुबारे जानकारी गराएको थियो।