‘कामरेड म तपाईंको खोजिमा छु’



कविता

शीर्षक:  कामरेड म तपाईंको खोजिमा छु

कामरेड
मेरै घरको झ्यालमा सिरानी हुन्थ्यो
चिहाउनु हुन्थ्यो बार्दलीबाट
एक जोर आँखा बिच्छाएर
झुन्डिएका हुन्थे घुटिकालमा
कम्ब्याट ड्रेस र बन्दुकहरु
बाड्नु हुन्थ्यो साम्यवादका सपनाहरु

कामरेड
सपनाहरुको खातै खात बोकेर
कता हराउनु भयो।

पुरानो घरको साँघुरो दलान नाघेर
ऊ त्यो क्षितिज देखाउदै भन्नुहुन्थ्यो
हाम्रो पुग्ने लक्ष्य त्यहाँ सम्म हो भनेर
कामरेड, अहिले त्यो क्षितिज
नाघेर कहाँ पुग्नु भो ?

हातमा ठेला आउञ्जेल दिनै भरी
काम गरेकी मेरि आमा सपना देख्थिन
क्रान्तिको
अनि साँचेर ल्याउथिन एक मुठी सातु
खान नसकेर होईन कामरेड ,
तपाईको लागि
किनभने उनले बुझेकी थिईन क्रान्ति पछि
सुखका दिन आउँछ भन्ने
तर खानकै अभावमा मेरि आमा मरिन
ग्यास्टिकबाट अलसर भएर
कामरेड मेरी आमाको बुझाई गलत कसरी भयो ?

साहुको कामको ज्यालाले भोक नटरेपछि
रातैभरी ननिदाई डोको बुन्ने मेरा बा
खोई कसरी एकासी फेरिए ?
अनि हानिए कालापार
अक्सर मेरा बा भन्ने गर्थे देश फेरिनुपर्छ
व्यवस्था फेरिएपछि गरिबका दिन आउँछन्
कालापारमा कमाएको पसिनाको मुल्य
कामरेड कहाँ बेच्यौ ?
मलाई जान्नु छ।

सहि गलत केही थाहा नभएको मेरो भाई
अक्सर ढाक्रे आमको रुखबाट दुश्मन
चिहाउने दुस्साहस गर्थ्यो
त्यहि दुस्साहसमा सहिद मेरो भाईको
बलिदान
कामरेड कहाँ बेच्यौ ?
मलाई जान्नु छ।

एक्कासी जानकीबाट ज्वाला भएकी मेरी
बहिनी
बेपत्ता भई
म हर तिहारमा उस्कैलाई आगमन कुरेर बस्छु
कामरेड
मेरी बहिनी जिउँदो छे या मृत
मलाई जान्नु छ।

हिसाव लिनुछ दाजु र दिदीको पनि
बुझ्नु छ श्यामे र गीताको हालखबर
तलास गर्नुछ बेपत्ता सहयात्रीलाई
कामरेड,
मलाई बासी विचार होईन
क्रान्तिको नयाँ आयाम भन्न उही ठाउँ आउनु
जहा बन्दुक भिरेर सपनाको खातैखात बनाएर
पस्नु भएको थियो सहर।
कामरेड
पाउनुपर्छ मैले उत्तर
दिनुपर्छ तपाईंले जवाफ
कामरेड,
म तपाईंको खोजीमा छु।