कालिकोटमा कोभिड अस्पताल सञ्चालनमा



कालिकोट। ‘जनस्वास्थ्य मापदण्डको अवलम्बन गरौं, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौं’ भन्ने मुल नारालाई आत्मसात् गर्दै कालिकोट जिल्लामा कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले तथ्याङ्कलाई हेर्दा कर्णाली प्रदेश देशभरीकै सबैभन्दा कम कोरोना सङ्क्रमित हुने प्रदेश रहेको बताए । उनले भने, ‘कर्णाली प्रदेशमा बसोबास गर्ने नागरिकहरूले कोरोना सङ्क्रणबाट मृत्यु ब्यहोर्नु पर्ने छैन।

उपचारका लागि जुम्ला, सुर्खेत जानु पर्ने बाध्यता अव हट्नेछ । यो अस्पताल कर्णाली प्रदेशकै एक नमुना कोभिड विशेष अस्पताल हो ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये कालिकोटमा निर्मीत कोभिड विशेष अस्पतालको संरचना सबैभन्दा ठुलो भएको बताए ।

एकिकृत भवनमा सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टिलेटर १ गरी जम्मा ५४ बेडको व्यवस्था गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटी (विपिन) ले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका कटकबहादुर महतका अनुसार कालिकोट जिल्लामा अहिले १ सय जना कोरोना सङ्क्रमितहरू क्वारेन्टाइनमा छन् । कालिकोट जिल्लामा कोरोना सङ्क्रमतिहरूमध्ये सबैभन्दा बढि तिलागुफा नगरपालिकाका २० जना आइशोलेसनमा रहेको कुरा महतले जानकारी दिए ।