चीनबाट उत्तर कोरिया आउनेमाथि गोली हान्ने आदेश



काठमाडौँ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उत्तर कोरियाली अधिकारीहरुले कडा कदम उठाएकाछन्।

उनीहरुले चीन हुँदै आफ्नो देशमा छिर्नेलाई गोली हान्नेसम्मको आदेश जारी गरेका हुन्। जबकी, चीन उत्तरको सबैभन्दा ठूलो सहयोगी हो। अन्तर्राष्ट्रिय न्युुज एजेन्सी एएफपीले दक्षिण कोरियास्थित अमेरिकी सेनाका कमाण्डरलाई उद्धृत गर्दै यसमा जानकारी दिएको हो।

स्वास्थ प्रणाली खासै सुुदृृढ नभएपनि उत्तर कोरियामा अहिलेसम्म कोरोना भाइरसको एउटै पनि संक्रमणको घटना दर्ता भएको छैन । प्योङयाङले महामारी रोक्नका लागि गत जनवरीमै चीनसँगको सीमा क्षेत्र बन्द गरेको थियो । गत जुलाईमा सुरक्षा व्यवस्था कडा बनाउँदै उसले संकटकाल लगाएको थियो । बाध्यकारी रुपमा सीमा बन्द गर्दा कालोबजारी मौलाएपछि हस्तक्षेप गर्न अधिकारीहरु अघि सरेका हुन् ।

एएफपीको समाचारअनुसार उत्तर कोरियाली स्पेशल अपरेशन फोर्सलाई सीमामा तैनाथ गरिएको छ, त्यस्तै स्ट्राइक फोर्सलाई गोली हान्नेसम्मको आदेश दिइएको छ । एक्सप्रेस को युकेमा प्रकाशित समाचारअनुसार सीमा क्षेत्रमा एक किलोमिटर भित्र छिर्ने जोसुकैलाई पनि उनीहरुल कारण नसोधी गोली हान्न सक्छन् ।

आणविक कार्यक्रमका कारण बाँकी विश्वले आर्थिक प्रतिबन्ध लगाइरहेका बेला चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियामा थप असर देखिएको छ । चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको छ । उत्तर कोरियामा झन्डै एक साताअघि आएको आँधीको प्रभाव पनि विकराल देखिएको छ, जसकारण २ हजारभन्दा धेरै घर ध्वस्त भएका छन् ।

जसकारण उत्तर कोरियाली निकट भविष्यमा आक्रामक रवैया देखाउने अवस्था नरहेको मिडिया रिपोर्टमा उल्लेख छ । यद्यपी, उत्तर कोरियाले सत्तारुढ वकर्स पार्टी अफ कोरियाको ७५ औं स्थापना दिवसका अवसरमा आगामी महिना नयाँ हतियार प्रणाली भने प्रदर्शन गर्नसक्छ ।