खुलालु पुल असारभित्र सम्पन्न गर्न निमार्ण कम्पनीलाई मुख्यमन्त्रीको ताकेता



कालीकोट। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तामा पुगेको ७ वर्षपछि जिल्लाको खुलालु पुलको अनुगमन गरेका छन्।

लामोसमयदेखि निमार्णाधिन अवस्थामा रहेको जिल्लाको नरहरिनाथ गापा वडा ८ खुलालु पुलको मुख्यमन्त्री शाहीले ७ वर्षपछि अनुगमन गरेका हुन्। २०७० सालको संविधान सभा निर्वाचनमा कालीकोट जिल्लाबाट निर्वाचित भएर उर्जामन्त्री बनेका मुख्यमन्त्री शाही २०७४ सालको निर्वाचनमा कालीकोट प्रदेशसभा ख बाट प्रदेश साँसदमा निर्वाचित भएका िथए।

निर्वाचनको बेला कालीकोटका राजनीतिक दलको मुख्य चुनावी एजेन्डा बन्ने पुल अझै निमार्ण हुन सकेको छैन। तर, शुक्रवार मुख्यमन्त्री शाहीले उक्त पुलको अनुगमन गरेसँगै केही चर्चा भएको छ। २०६७ सालमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र २०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधीले खुलालु पुलको शिलान्यास गरेका थिए। दुई पटक सिलान्यास भएको पुल अहिलेसम्म पनि निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीयहरु मर्कामा परेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उक्त पुलको अनुगमन गरेपछि अव पुलले तीव्रता पाउनेमा स्थानीयबासीले विश्वास लिएका छन्। मुख्यमन्त्री शाहीले अनुगमनकै क्रममा पुललाई चाडो सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले आगामी असारसम्म काम सम्पन्न नगरे पुन अर्को टेन्डर गर्ने भन्दै निमार्ण कम्पनीलाई ताकेता गरेका हुन्।

गौरवको आयोजना मानिएको कर्णाली करिडोर सम्पन्न हुन लाग्दासमेत अहिलेसम्म खुलालु पुल निमार्ण हुन सकेको छैन। खुलालुमा पुल नहुँदा झुलुङगे पुलबाट सामान बोकेर लैजादा नागरिक महंगीको मारमा छन्। कालीकोटको खुलालुदेखि हुम्ला र तिव्वतको सिमानासम्म निमार्ण गरिने कर्णाली करिडोरमा पक्की पुल नबन्दा नागरिकले सास्ती भोग्नु परेको छ।

अहिले सडक निमार्ण भएको बाजुरासम्म नियमित गाडि संचालन भइरहेको भएपनि खुलालुमा पुल नबन्दा नागरिकले पाउनु सास्ती पाएका छन्। आगामी असारभित्र आफूले पुल सञ्चालनमा ल्याईसक्ने कन्काई नेपाल प्रगती जेविका सञ्चालक दिपक मैनालीले बताएका छन्।

उनले अहिले लकडाउन भएकाले सामाना ल्याउन असहज भएकाले काममा तीव्रता दिन नसकेको स्विकार गरेका छन्। उनले भने, ‘मुख्यमन्त्रीले दिएको निर्देशन अनुसार आगामी असारभित्र पुल सञ्चालनमा ल्याइसक्ने छौं। यसमा सबैको साथ आवश्यक छ।’ यसरी मुख्यमन्त्रीको निर्देशन र निर्माण कम्पनिका कुरा सुन्दा ११ वर्षसम्म नबनेको पुल अबको एक १ वर्षमा सञ्चालनमा आउला ? धेरैको यहि प्रश्न छ। तर, यो प्रश्नको जवाफका लागि भने केही समय कुर्नै पर्ने हुन्छ।