यतिबेला विश्व मानव दुनियाँ नोबेल कोरोना भाइरसबाट सन्त्रासमा छ। यस भाइरसबाट नेपाल र नेपालीहरु पनि अछुतो रहन सकेनन्। सन् २०१९को अन्तीम तिर चीनको वुहान प्रान्तबाट फैलिएको यो महामारीले विश्वलाई नै ठूलो क्षती पुर्याएको छ।
केही देशमा यो भाइरस तत्काल नियन्त्रणमा आए पनि अन्य धेरै देशहरुलाई आछु–आछु पारेको अवस्था छ। विश्वको महाशक्ति देश अमेरिकामा यसले सबैभन्दा धेरै मानवीय क्षती पुर्याएको छ। हाम्रो देशमा गत वर्षको ११ चैत्रदेखि संघीय सरकारले घोषणा गरेको बन्दाबन्दी गत ४ साउनमा खोलियो। जनताका समस्या पहिचान नगरी गरिएको उक्त बन्दाबन्दीबाट बिच्किएका जनतालाई पुनः निषेधाज्ञा, सटडाउन, क्षत्रगत लकडाउनले झनै समस्यामा परे।
यद्यपि सरकारले सुरुमा बन्दाबन्दी गर्दैगर्दा जनताहरुसँग केही मात्रामा खाद्यवस्तु भण्डारणमा थिए। सरकारले त्यतिबेला आफ्नो कर्तव्य भन्दै थोरै मात्रामा राहत बाँड्यो। तर, यतिबेला जनताको अवस्थासँग सरकार पूरै बेखबर जस्तै बन्यो। ८० करोडको राहत बाँडियो भनेर कुर्लिएको सरकार हाल जनताको दुःखलाई नजरअन्दाज गरेर बसिरहेको छ।
त्यसमा पनि राहत वितरणमा एकरुपता नआएको धरै गुनासाहरु सुन्नमा आएका थिए। जो नजिकका र आफ्ना थिए, उनको घर दैलोमा पुग्यो राहत। पीडितहरुको घरमा सरकारी राहत पुग्न सकेन। ति ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने गरिब जनता वितेको ६ महिना अत्याधिक तनाव र पीडामा बाँच्न बाध्य बने। उनीहरुको स्थिति के भयो होला ? भनेर कहिल्यै सरकारले सोच्न सकेन।
आज गरिब, निमुखा अनि दिन दु:खी जनताहरु खान नपाई छट्पटाइरहेका छन्। रोगलेभन्दा भोकले मरिन्छ कि भनेर चिन्ता गरेको पाईन्छ। सरकार भने देखेर, सुनेर पनि नदेखेझैँ निकम्मा बनिरहेको छ। रोजीरोटीको लागि विदेशी भूमिमा पुगेका लाखौं युवाहरु स्वदेश फर्किए। सरकारले उनीहरुको व्यवस्थापन गर्न नसकेपछि पुनः उनीहरु दुई छाक खानकै लागि भए पनि भारत तर्फ हानिरहेका छन्। महामारीको जोखिमलाई आत्मसाथ गरेर आफ्नो परिवार बचाउनकै लागि भए पनि भारत तिर हानिन थालेका छन्।
सरकार आजसम्म त तिम्रो आँखा खुलेन। अब पनि खुलेन भने जनताले तिमीलाई कहिल्यै आफी दिने छैनन्। अब त उठ ! जनतालाई सरकार छ भन्ने आभाष दिलाउने समय पनि यही नै हो। यो जनताको हितमा काम गर्ने समय नचुकाऊ। जनतालाई सानोतिनो रोजगारी देऊ। ति निमुखाहरुको पेट भरिदेऊ। कहिलेसम्म कुर्सी र सत्ताको लागि मात्रै लड्छौ? कहिलेकाहीँ त जनताका दुःख, पीडा र मर्म पनि बुझ्ने गर। जनभावनाको कदर गर।
मत बटुल्ने बेलामा वृ्द्धवृद्धालाई बोकीबोकी मदतानस्थलसम्म पुर्याइ काँपेका हात समाई भोट हाल्न लगायौ। आज तिनै बाआमाले खान पाएका छैनन्। दिनरात आँसुले नुहाइरहेका छन्। ति बाआमाको आँसुले सराप्ला सरकार! मान्छे रोगलेभन्दा भोकले छिटो मर्छ भन्ने कुरा समयमै बुझ्न सक्नुपर्छ। आज दूधे बालकहरु भोकले चिच्याएर रोइरहेछन्। भुलिनकै लागि भए पनि आमाको दूधको लाम्टा लुछिरहेछन्। दिनमा २१ सय क्लोरि पोषण नगपुगेर कति बालबालिकमा कुपोषणका शिकार भइरहेका छन्। ठूला–ठूला महल र चिल्ला गाडीसँगको विलासी जीवन बिताएर कुना कन्दराका दुःख र पीडा के बुझ्थ्यो र सरकारले ?
सरकार कोरोना महामारी जति फैलिएको छ, त्योभन्दा बढी त तिम्रौ लाजनीति फैलिएको छ। तिम्रो काम मृतक, संक्रमित र संक्रमणमुक्तको तथ्यांक तयार पारेर बस्ने मात्रै हो? यो लकडाउनको अवधीमा भोकले कति मानिस मरे हिसाब छ सरकारसँग ? भोक र खाने कुरा नपाएकै कारण कति हजारले आत्महत्या गरे ? त्यो थाह छ सरकार ? प्रधानमन्त्री केपी ओलीज्यू भन्नुहुन्छ, ‘म भ्रष्टाचारीको अनुहार हेर्दिनँ, भ्रष्टाचार देखे सहन्न।’
यत्रतत्र सर्वत्र रुपमा दुर्गन्धित तरिकाले फैलिइरहेको भ्रष्टाचार के प्रधानमन्त्रीज्यूले नदेख्नु भएकै हो ? फेरि भन्नुहुन्छ, ‘अब जनता भोकले मर्नुपर्दैन।’ प्रधानमन्त्रीज्यू हेक्का रहोस्, भोकमरीले जनतारु दिनानुदिन मरिरहेछन्। बरु तपाईंको संयन्त्रले देख्ने सकेको छैन। कति बन्नुहुन्छ ट्रोलको शिकार ? कति बन्नुहुन्छ हाँसोको पात्र ? सरकारको भाषण सुनेर लाज पनि लजाइ सक्यो होला। भाषण होइन, व्यवहारमा थोरै भएपनि सरकार भएको अनुभूति गर्न चाहन्छन् जनता।
आज जनता भोकले चिच्याउँदै सरकारलाई गुहार्दैछन्। उनीहरुको पुकारलाई सुन सरकार। उनीहरुको चिच्याहटसँग नखेल। जनताकौ धैर्यता धेरै दिन नटिक्न सक्छ। त्यो बेलामा सरकारले समय र मौका दुबै गुमाइसकेको हुनेछ। अहिले आफ्नो पेटभर्ने र नाजायज काम गर्नेभन्दा पनि जनताको भलाइका निम्ति थोरै समय खचिर्नुपर्छ भन्ने सतबुद्धि पलाओस्।