क्यान्सर पीडितलाई काङ्ग्रेसले गर्यो सहयोग



काठमाडौँ। बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका घर भएका विक्रमबहादुर थापा लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित छन्।

अहिले उनी काठमाडौँको वीर अस्पतालमा उपचार गराइ रहेका छन्। क्यान्सरको उपचार गर्दा गर्दा परिवारको सारा श्रीसम्पत्ति बेचबिखन गरेर सिद्धिएपछि थापालाई नेपाली काङ्ग्रेस बझाङ(काठमाडौँ सम्पर्क समितिले सहयोग गरेको छ।

आठ पटक किमो दिइसकेको र अझै किमो दिनु पर्ने पीडित थापालाई सक्दो सहयोग गर्न नेपाली काङ्ग्रेस बझाङ-काठमाडौँ सम्पर्क समितिले केही दिन अघि सार्वजनिक अपिल गरेको थियो।

विभिन्न मनकारी महानुभावहरुद्वारा प्राप्त जम्मा दुई लाख तीस हजार नौ सय बत्तिस रुपैयाँ बिरामी बसेको सुनधारा स्थित सोनी गेस्ट हाउसमा गएर हस्तान्तरण गरिएको सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले जानकारी दिएका छन्।

यसैगरि बझाङ जिल्ला छान्ना गाउँपालिका वडा नम्बर ३ घर भएका निरज सुनुवार आन्द्रा र पित्तनलीको क्यान्सरबाट पीडित छन्। अहिले उनको महाराजगन्ज स्थित त्रीवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

क्यान्सरको उपचार क्रममा आर्थिक समस्या आइपरेपछि सुनारलाई सहयोग गर्न पनि नेपाली काङ्ग्रेस बझाङ काठमाडौँ सम्पर्क समिति अघि सरेको छ। सुनारका लागि आर्थिक सङ्कलन भइरहेको र जम्मा भएको रकम केही दिनपछि हस्तान्तरण गरिने जानकारी अध्यक्ष बमले दिएका छन्।