कांग्रेसद्धारा विपन्न परिवारलाई राहत वितरण



कालिकोट। नेपाली कांग्रेसका नेताहरुले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर २ पोरिपाल्नीमा ५० जना विपन्न परिवारलाई राहत वितरण गरेका छन्।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, कांग्रेस नेता पदमबहादुर शाही र नेपाली कांग्रेसकी महिला नेतृ तथा निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा ५० जना विपन्न परिवारहरुलाई राहत वितरण गरेका हुन्।

मंगलबार कांग्रेस नेताहरु भुपेन्द्रजंग शाही, पदमबहादुर शाही, तारा शाहा, कबिन्द्र शाही, चन्द्रजंग मल्ल लगायतका नेताहरुको उपस्थितिमा पोरिपाल्नीका ५० विपन्न परिवारहरुलाई सामाजिक दुरी कायम गरी प्रति परिवार २० किलो चामल, दुई किलो दाल, तेल, साबुन, मास्कलगायतका दैनिक उपभोग्य बस्तुहरु राहत स्वरुप वितरण गरिएको हो।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभामा पराजित उम्मेद्वार भुपेन्द्रजंग शाही, २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिकाको प्रमूखमा पराजित पदमबहादुर शाही र कांग्रेस नेतृ निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले खाँडाचक्र नगरपालिकामा विपन्न परिवारहरुलाई राहत बितरण गर्ने अभियान थालेका छन्।

उनीहरुले कोरोनाका कारण लकडाउन हुँदा समस्यामा परेका विपन्न परिवारहरुलाई राहत दिने अभियान थालेका हुन्। कांग्रेस युवा नेता शाहीले भने, ‘कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई स्थानीय सरकारले राहत दिनुपर्ने हो। तर दिएन। नागरिकहरु समस्यामा परेको गुनासो आएपछि हामीले व्यक्तिगत रुपमा सामाजिक भावना र मानवियताका हिसावले बितरण गरेका हौं।’

उनले जिल्लाभरीका बाढी पीडित तथा बिपन्न परिवारहरुलाई कांग्रेसको तर्फबाट गाँउगाँउमा राहत वितरण गर्न थालिएको जानकारी दिए। यस्तै कांग्रेस नेता पदमबहादुर शाही, तारा शाहाले कालिकोटमा कांग्रेसले संसदीय निर्वाचनमा पराजय भोगे पनि जनताका समस्यामा आफुहरु सधै लागि रहेने बताए। उनले अहिलेको सरकारले गरेका गलत कामले आगामी आउने आम निर्वाचनमा जनताले कांग्रेसलाई रोज्ने ठोक्कुवा गरे।