काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा १०१ महिला र १९९ पुरुषसहित ३०० कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २६ महिला र ३२ पुरुषसहित ५८ जना थपिँदा ललितपुरमा २१ महिला र १७ पुरुषसहित ३८ संक्रमित थपिएका छन् ।
बितेको २४ घण्टामा भने देशभर ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३०६ पुगेको छ। यसैबीच यसैगरी हाल ५०० बढी क्रमित संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही रहेको छ । यस्तै ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित शून्य रहेको छ ।