एसिड पीडित बालिकालाई पर्यटनमन्त्रीको नगद सहयोग



काठमाडौँ। संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन्।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन्। एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए। दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे।

केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए। सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन्।