काठमाडौं। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। भोलिबाट खतिवडाको पदावधि सकिँदै थियो ।
खतिवडा गत फागुनमा राष्ट्रियसभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए। संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ।
प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गर्दै आफुले आजै साँझ राजीनामा दिने बताएका थिए। त्यसक्रममा उनले वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको तथा पदमा रहँदा कुनै लाभ लिने निर्णय नगरेको बताए। उनले आफ्नो कार्यकालमा भए गरेका कामहरुको संक्षिप्त विवरणहरु पेस गर्दै राम्रा कामले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका थिए।