कालिकोट पहिरो अपडेट: दुई महिने बालकसहित १० जनाको मृत्यु



कालिकोट। जिल्लाको अन्तीम सीमाना नाग्म बजारमा पहिरोले तीन घर पुरिँदा दुईमहिने बालकसहित १० जनाको मृत्यु भएको छ।

आइतबार बिहान गएको पहिरोमा परी रातिसम्ममा १० जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार तिला गुफा नगरपालिका–१ का पूर्णा शाहीको परिवारका चारजना मृत्यु भएको हो।

मृत्यु हुनेमा पूर्णा शाहीका श्रीमान् ४० वर्षीय प्रयाक शाही, आठ वर्षीया छोरी हिमा, पाँच वर्षीय छोरा नीराजन र दुईमहिने छोरा अब्बल शाही गरी चारजनालाई घटनास्थलमै मृत फेला पारिएको हो। घाइते पूर्णा शाहीको अवस्था भने खतरामुक्त रहेको छ। घाइते अवस्थामा उद्धार गरी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानल्याइएको थियो।

यसैगरी ३५ वर्षीय मनवीर कटुवाल, ३० वर्षीय टेकबहादुर दमाईं, उनकी २५ वर्षीया श्रीमती छोड्नु दमाईं, उनका छोरा १० वर्षीय गजेन्द्र दमाईंको पनि पहिरो पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक धामीले बताए।

सोही पहिरोमा परी सुर्खेत भेरी नगरपालिकाका– ४५ वर्षीय आइती खड्का र उमेर नखुलेका अमृत थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक धामीले भने, ‘जुम्ला र कालिकोटको सुरक्षाकर्मीहरूले पहिरो पन्छाउने काम गरिरहेका छन्। स्थानीय मुनवीर कटुवाल, लाल नेपाली र वीर परियारको घरको पहिरो पन्छाउने काम जारी छ।’

बिहान पहिलो घाइतेका रूपमा प्रतिष्ठानमा ल्याइएको १३ वर्षीय अर्जुन हमाललाई आइतबार नै अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए। नाग्म बजारको माथि रहेका खेतहरूमा पानी छोडेपछि भिरालो जमिन भासिएर पहिरो आएको हो।

सो क्षेत्रमा सञ्चारको कुनै पनि सुविधा नहुनुको कारण समयमै उद्धार हुन नसकेको स्थानीय मुनी बुढाले बताइन्। कालिकोटका प्रहरी नायव उपरीक्षक श्याम ओलियाले भने, ‘पहिरो पन्छाउन जुम्ला र कालिकोटका सुरक्षाकर्मी खटिएका थिए।’