काठमाडौँ। भनिन्छ, रहरको कुनै सीमा हुँदैन। उत्सुकता र चाहनाको कुनै बाँध हुँदैन। खासगरी बाल्यकालमा मान्छेहरुले जे जति सोच, विचार र प्रतिक्रिया दर्शाउन सक्छ, आखिर जीवनमा त्यो सम्भव हुँदैन। संसारको सबैभन्दा शक्तिशाली चीज तस्बिरलाई मानिन्छ। हुन पनि तस्बिरले अथाह भावहरु, ज्वारभाटाहरु, जेहाद छेड्ने साहसहरु प्रतिविम्वित गरेको हुन्छ।
कुरा गत शुक्रबारको हो। विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट त्राहिमाम बनेको नेपाल अहिले कठिन संघर्षको मैदानमा छ। गत वर्षको चैत ११ गतेदेखि प्रभावित बनेको जनजीवन अझैं पनि लयमा फर्किने पत्तो छैन। यसै क्रममा सरकारले काठमाडौँ उपत्यमा यहि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ।
विभिन्न रोगका बिरामीहरु बिहानको समयमा सडकमा निस्किने गरेको पाईन्छ। उनीहरुलाई सरकारी निर्देशनको अवज्ञा गरेको आरोपमा केही समय सडकमै उभ्याएर राखिन्छ। उनीहरुले प्रहरीको निर्देशनलाई पालना गर्नुको विकल्प पनि छैन। यीनै तस्बिरहरु खिच्ने क्रममा वरिष्ठ फोटोपत्रकार मुकुन्द कालिकोटेले टुँडिखेलभित्र र बाहिरका केही दृश्यहरु रोचक तस्बिरहरु आफ्नो क्यामेरामा कैद गरेका छन्।
तस्बिरमा कैद भएका बालक कहाँका हुन्? को हुन् ? त्यो फरक पाटो हो। यसको सोधिखोजिमा पत्रकार कालिकोटेले समय खेर पालेनन्। यहाँनेर सहज अनुमान के गर्न सकिन्छ भने उनी मन्दीरका मगन्ते बालक हुन्! जसले कुकुरमाथि चढेर घोडा चढ्ने रहर पूरा गरिरहेका छन्।
टुँडिखेल मैदानको छातिमा सेनाका बुटहरु बजारिन्छन्। कयन सलामीहरु दिइन्छ। निश्चित व्यक्ति र पहुँचवाल बाहेकलाई पलामे बारेल अनुमति बिना प्रवेश निषेध गरेको छ। टुँडिखेलभित्रका कुराहरुमा धेरै मानिस जानकारी नै छन्। तर, टुँडिखेलभित्र जति सुन्दर दृश्यहरु देख्न पाईन्छ, त्यसको विपरित पर्खाल बाहिर सोचमग्न बनाउने र मथिङ भत्काउने खालका दृश्यहरु पनि देख्न पाईन्छ। जसको बारेमा धेरैलाई जानकारी नहुन सक्छ!
शुक्रबारको दिन पत्रकार कालिकोटे राजधानीको सभागृह, भद्रकाली मन्दिरलाई दायाँ पारेर शहिदगेट, सुन्धारा, महांकाल हुँदै वीरअस्पलातको सामून्नेमा रहेको आकेश पुलमा पुग्छन्। महाँकाल मन्दीरको तस्बिर खिच्ने क्रममा यि बालकको क्रियाकलाप नजरमा पर्छ। टुँडिखेलभित्र सेनाले घोडामाथि चढेर आफ्नो नित्यकर्म पूरा गर्छन, बाहिर यि बालकले टुँडिखेलभित्रका गतिविधिहरुलाई नियाल्दै कुकुरमाथी चढेर घोडा चढ्ने रहर पूरा गर्छन्।
तस्बिर: मुकुन्द कालिकोटे