काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले विद्यार्थीहरुको हकहितका निम्ति बोल्दा आफ्नो विरुद्धमा कसैले आत्मदाह गरेपनि आवाज नरोकिने बताएका छन्।
शनिबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा बताएका हुन्। उनले लेखेका छन्, ‘विद्यार्थीको पक्षमा बोल्दा, राष्ट्रियताको पक्षमा बोल्दा, जनजिविकाको पक्षमा बोल्दा, न्याय र समानताको पक्षमा बोल्दा, ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्दा, कसैको आपत्ति हुन्छ भने, कसैले बिरोध त के मेराविरुद्ध आत्मदाह नै गर्छ भने पनि मेरो आवाज रोकिने छैन।’
शुक्रबार मात्रै सहसंयोजक तामाङले २१ बुँदे सुझावसहित स्कुल तथा विश्वविद्यालयको विद्यमान समस्या समाधानका लागि शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। उक्त विषयलाई लिएर अहिले अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक तामाङका पक्षविपक्षमा तातोतातो बहस सिर्जना भएको छ।
शुक्रबार पनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत सरकारका गल्ती र त्रुटिहरुमा चुइक नबोल्ने तर, विद्यार्थीहरुको हितमा बोल्दा बिरोध गर्नेहरु किन बरबराईरहेका छन्? भन्दै प्रश्न गरेका थिए।
यो पनि पढ्नुहोस्