काठमाडौँ। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख जिल्ला अस्पताल, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिम र प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको ११ सय पाँच स्वाब परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो।
प्रतिष्ठान जुम्लामा तीन सयजनाको स्वाब परीक्षण गरिएकोमा हिमा गाउँपालिकाका ६ जना, दैलेख जिल्ला अस्पतालमा एक सय १९ जनाको स्वाब परीक्षण गर्दा नारायण नगरपालिकाका ११ जना र चौरजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा ८५ जनाको स्वाब परीक्षण गर्दा सल्यान दार्मा गाउँपालिकाका दुईजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए।
कर्णालीका योसँगै कोरोना संक्रमित हुनेको संख्या २३ सय ६३ पुगेको छ। शुक्रबार कर्णालीका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १५ जना डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए। ‘हालसम्म निको हुनेको संख्या दुई हजार ४० पुगेको छ,’ उनले भने, ‘हाल कोरोना सक्रिय बिरामीको संख्या तीन सय १७ रहेको छ।’ कर्णालीमा यसअघि कोरोनाका कारण ६ जनाको ज्यान गइसकेको छ।