चन्द्रकलामाथि भएको दुरव्यवहारको घटनाले दु:खीत बनाएको छ: अध्यक्ष शाह



काठमाडौँ। नेपाल एथलेटिक्स संघले झापाकी एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेका कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ। तथापी कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ र विष्णु श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया थालिएको झापा प्रहरीले जनाएको छ।

सोमबार राति निर्घात कुटपिट भएको खबरले अत्यन्तै दुःखी बनाएको बताउँदै संघका अध्यक्ष राजीव विक्रम शाहले यस्तो माग गरेका हुन्। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको उक्त घटनाको नेपाल एथलेटिक्स संघ घोर भत्र्सना गरेको छ।

अध्यक्ष शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको २१औँ शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु। कुटपिटबाट घाइते लामगादेसहित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै चन्द्रकला बहिनीको स्वास्थ्यपचारका लागि नेपाल एथलेटिक्स संघको तर्फबाट २१ हजार सहयोग उपलब्ध गराउने पनि घोषणा गर्दछु।’

कुटपिटको कहानी

सोमबार स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आक्रमणबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता र उनका श्रीमान सागर खाती घाईते भए। श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितको आरोप छ।

सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए। मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए।

घटना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए। दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए। दर्जी भाग्दै सागरको घरमा गए। बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए।

दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन। सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका हुन्। पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कुटपिट गरेका थिए। सागरलाई पेटीले कुटपिट गरेका कारण शरिरभरी निलडाम छ।

उनीहरु दुबै उपचाररत रहेका छन्। घटनामा संलग्न दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। कुटपिट गर्नेबिरुद्ध मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी निर्मला परियारको अगुवाईमा उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो। उनीहरुबिरुद्ध कुटपिट र जातीय भेदभाव तथा छुवाछुत कसुर सजाए ऐन २०६८ अन्तर्गतको मुद्दा दर्ता गरिएको परियारले जानकारी दिइन्।

मंगलबार जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो। घाइते चन्द्रकलाको अवस्था सामान्य भए पनि गर्भमा रहेको शिशुको अवस्था नाजुक रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृत गर्दै श्रीमान सागरले बताए।

कुटपिटमा संलग्न दुर्गा नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन्। लाम्गादे एथलेटिक्सकी किर्तीमानी खेलाडी हुन्। उनले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन्। कोरोना संक्रमण बढेका कारण गर्भवती उनलाई इलाका प्रहरी कार्यालय धुलावारीमा हाजिर गर्नेगरी प्रहरी मुख्यालयले काज बिदामा राखेको थियो । सोही क्रममा उनी मेचीनगर–१२ चारआलीमा बस्दै आएकी थिइन् ।