काठमाडौँ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ। यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ।
सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन।
अनलाइनखबरका अनुसार तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन। उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन।
सोहीकारण पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन्। अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ।
यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ। नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ।
सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ। अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ। १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन्।
परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराईले जानकारी दिए। ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन्।