कर्णाली प्रदेशका सात जिल्लामा निषेधाज्ञा जारी



बाँके, कोहलपुर। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको हो।

संक्रमित हुनेहरुमा सुर्खेतका पाँच जना, दैलेख र कालिकोटका चार, चार जना, सल्यानका दुई जना, धनुषा, कञ्चनपुरका र जुम्लाका एक, एक जना रहेका छन्। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले यो संगै कुल संक्रमितको संख्या दुई हजार तिन सय १३ पुगेको जानकारी दिए।

मंगलबार थप १५ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन्। योसँगै कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या दुई हजार सात पुगेको छ। हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ। भने तीन सय जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ।

काठमाडौँ उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन्। सात जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानरकाी दिएको छ।

विज्ञको सल्लाहबिना कर्णालीका सात जिल्लामा निषेधाज्ञा

कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम र संक्रमण फैलिन नदिने नाममा विज्ञको सल्लाहबिना कर्णाली प्रदेशका सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। प्रदेशका १० जिल्लामध्ये सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, मुगु, जाजरकोट र रुकुम (पश्चिम) का जिल्ला प्रशासन कार्यालयले विज्ञको सल्लाहबिना निषेधाज्ञा जारी गरेका छन्।

कर्णाली प्रदेश प्रहरीका अनुसार जुम्ला, मुगु, कालीकोट र दैलेखमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ। त्यस्तै सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको मुसीकोट, आठविसकोट, सानीभेरी र जाजरकोटको भेरी नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार साउन ३२ देखि जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। यस्तैै मुगु र जाजरकोटमा भदौ १५ गतेसम्म, दैलेख र कालिकोटमा १० गतेसम्म, सुर्खेतको वीरेन्द्रनगरमा १२ गतेसम्म र रुकुम पश्चिमका तीन स्थानीय तहमा भदौ १४ गतेसम्म निषेधाज्ञा छ।