कर्णाली प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिए



जुम्ला। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा ३७ जनासहित ५१ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै रुकुम पश्चिमको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकका १८ जना रहेका छन्। त्यस्तै जाजरकेटको भेरी नगरपालिकामा मात्रै १५ जना नयाँ संक्रमित थपिएका छन्। भेरी नगरपालिकाको वडा नं। १,२, ३, ४, ७ र १० मा दुई महिला र १३ जना पुरुषमा संक्रमण देखिएको हो। चौरजहारी प्रयोगशालामामै गरिएको परीक्षणमा बर्दिया, डडेलधुरा, धादिङ र उदयपुरका एक÷एक जनामा संक्रमण देखीएको छ।

त्यस्तै सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। जसमा सुर्खेत, चितवन र कंचनपुरका दुईरदुई जना, सल्यान, कैलाली, सर्लाही, रुपन्देही र बर्दियाका एक÷एक जना हरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

जिल्ला जनस्वास्थ कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेका अनुसार सुर्खेतका दुई र सल्यानका एक जनाबाहेक अरुकोे बबई नाकामा स्वाब संकलन गरिएको थियो। उनीहरु सवारी चालक र स्थानीय वासिन्दा हुन्।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा कालिकोटका तिलागुफा नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ। यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२९५ पुगेको छ।

कर्णालीमा सोमबार थप १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९९२ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ। कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २९७ जना सक्रिय संक्रमित छन्।

त्यस्तै देशभर वितेको २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। उनीहरुमध्ये १८ हजार ८०६ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा मात्र १७५ जना डिस्चार्ज भएका छन्।

नेपालमा वितेको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ।