‘चाँडै कोरोना जितेर घर फर्किन्छु’



सन २०१९ को उत्तरार्द्धमा चीनको वुहान प्रान्तबाट जन्म लिएको नोवेल कोरोना भाइरस (कोभिड १९) क्रमशः विश्वका कुनाकुनामा यसरी फैलियो कि भुसको आगोसरी।

विज्ञान जगतमा यो भाइरसको औषधी आविष्कार नहुनुले भाइरसले आफ्नो संक्रमणको क्षेत्र भुसको आगोसरी बिस्तारित गरेको सहजै आँकलन गर्न सकिन्छ। फलस्वरुप यसले सिंगो मानवजगतलाई त्रासित बनाएकोछ। यो भाइरस देखिएको लगभग ड महिना भैसकेछ, यति लामो अवधीसम्म यसले आफ्नो असर देखाएपछी हालसम्म २ करोडभन्दा बढी संक्रमित र ८ लाखभन्दा बढी मृत्यु मान्छेहरु त्रासित नहुन पनि कसरी ?

अझै यसले मानवजगतलाई कुन धरातलमा पुर्याउने हो तोकेर भन्न सकिने अवस्था छैन। मेरो अनुमानमा विश्व मानव जगतलाई कोरोना भाइरसले ३ दर्जामा बाँडेकोछ। जुन निम्नानुसार छन्।

१ कैयौं मानिसहरु आफ्नो प्राकृतिक रोग प्रतिरोधात्मक क्षमताले यो भाइरससँग लड्न नसकेर मरिसकेकाछन्। यसरी अकालमा ज्यान गुमाउनेहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

२. कति मानिसहरु कोरोनाविरुद्धको लडाइँमा होमिराखेका छन्, संक्रमित छन्।

३. कैयौं मानिसहरु कोरोना भाइरससँग लड्न नपरोस भनी भगवानसँग प्रार्थना गरिरहेका छन्।

यी माथिका मैले देखेका ३ दर्जाका मानिसहरुमध्ये म २ नम्बरको दर्जामा अर्थात कोरोना भाइरसविरुद्धको लडाइँमा होमिएको एक मनुष्य हुँ। विश्वमा नोवेल कोरोना भाईरसको संक्रमणको संख्या दिनदिनै उकालो लागिरहेको वर्तमान सन्दर्भमा नेपाल पनि अछुतो रहन सकेन। यससँगै जुम्ला जिल्लामा पनि संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेकोछ।

कोभिड १९ ले आफ्नो कार्यक्षेत्र यसरी बिस्तार गर्दै गर्दा मेरो कार्यक्षेत्रमा पनि केही सहकर्मी सरहरुलाई यसले आक्रमण गर्यो उनीहरुको स्वाबको पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखियो। यधपी हामीले यसको आक्रमणबाट बच्न पूर्वसावधानी मास्क प्रयोग, सेनिटाईजर प्रयोग, सामाजिक दुरी कायम लगायत जिल्ला प्रशासनल कार्यालयबाट जारी आदेश अपनाएकै थियौं।

केही सहकर्मी सरहरुलाई यसको संक्रमण देखिएपछि जनस्वास्थ्य कार्यालय जुम्लामा गएर म लगायत १६ जना सहकर्मी सर र म्याडमहरुले आइएनएफको कार्यालय परिसरमा पिसिआर परिक्षण को लागि स्वाब दियौँ। स्वाब दिएको भोलिपल्ट अपरान्ह ५ बजेतिर कोठामा ओछ्यानमा पल्टिरहेको थिएँ। मोबाइल बज्यो। मेरो ध्यान मोबाईलतिरै खिचियो। मोबाईलको पर्दा हेर्दा नयाँ नम्बर बाट फोन आएको थियो, रिसिभ गरे।

म: हेलो
अपरिचित व्यक्ति: तपाई धनसिंह थापा बोल्नुभएको हो ?
म: हजुर सर।
अपरिचित व्यक्ति: तपाईले पिसिआर परिक्षण को लागि हिजो स्वाब दिनुभएको हो?
यति कुरा सुनेपछि मैले लख काटिसके की (जिल्ला जनस्वास्थ्य कार्यालय जुम्ला) बाट फोन आएको रहेछ।
जनस्वास्थ्यका कर्मचारी: तपाईको ठेगाना र उमेर भन्नुस त।
म: झस्किदै तिला ९, जुम्ला, २८ वर्ष। (हतारहतारमा) मेरो रिपोर्ट आयो सर ?
जनस्वास्थ्यका कर्मचारी: रिपोर्ट आयो। यसो हस्पिटलतिर रिपोर्ट बुझ्न आए हुन्थ्यो।
म: रिपोर्ट के भयो भन्न नमिल्ने हो सर ?
जनस्वास्थ्यका कर्मचारी: आत्तिनु पर्दैन। अहिले एकछिन पछि हस्पिटलबाट फोन आउला।
म: हवस सर।

केही छिनपछि अर्को नयाँ नम्बरबाट फोन आयो। स्वास्थ्य कार्यालयको को फोनले झस्कीसकेको म हतार हतार फोन उठाए
म: हेलो ।

अपरिचित व्यक्ती: म हजुरको सहकर्मी सर बोल्दैछु सर। उहाँको मोबाइल नम्बर मेरो मोबाईलमा सेभ गरेको रहनेछु। (तपाईको रिपोर्ट पोजिटिभ आयो रे) तयारी भएर हस्पिटल जानुपर्‍यो। अरु साथीहरू नि आउँदैछन्।

म: एकछिन छाँगाबाट खसेजस्तै भएँ। (फेरि आत्तिदै ) अरु सर म्याडमहरुको रिपोर्ट के भयो?

सहकर्मी सर: तपाईं लगायत ६ जनालाई पोजिटिभ देखियो रे सर। नआत्तिनु सबै ठिक हुन्छ।

म: (जसोतसो समालिएर) हवस सर।

फोन राखिसकेपछी त्रासको भूकम्पले हल्लिएको मनलाई सन्तुलित पार्ने आँट गर्दै तत्काल उहाँ सरको मोबाईल नम्बर पनि मेरो मोबाइलमा सेभ गर्न भ्याएँ। श्रीमतीसँग नि मैले मलाई कोरोना पोजिटिभ भयो रे भनेर जानकारी गरे। उनलाई सान्त्वना पनि दिएँ। मेरो छोरो उमेरमा सानो भएपनी उ धेरै संवेदनशील छ। उसले धेरै कुरा बुझ्छ पनि। उसले मेरो रिपोर्ट सुनेपछि रुन थाल्यो, मैले उसलाई सम्झाए। केही हुँदैन, म छिट्टै निको भैहाल्छु भनेर फकाएपछी उसले मान्यो पनि।

त्यसपछी ओछ्यानमा यताउती पल्टिदै आफूले पूर्वसावधानीको लागि गरेका हरेक क्रियाकलापलाई झल्झली सम्झे। म होम क्वारेन्टाइनमा नि सुरक्षीत नै थिएँ, कार्यालय लगायत बाहिर पनि धेरै जनासँग म घुल्मिल भएको पनि थिईन अर्थात सामाजिक दुरी कायम गरेकै थिए, मास्क, सेनिटाईजरको प्रयोग गरेकै थिए, सकेसम्म बच्ने कोसिस गरेकै थिएँ।

पीसीआर परिक्षणले पोजिटिभ देखाएपछी एकातिर मैले कोरोनाबाट बच्न अपनाएको पूर्व सावधानी बालुवामा पानी खन्याएजस्तै भएको भान भयो मलाई भने अर्कोतिर कहीँकतै मैले गल्ती गरेको नि हुनसक्छु ‘भुलचुकले कोहि कुनै संक्रमितसँग हात मिलाए किरु कहिलेकाही मास्क राम्ररी लगाईन कि ? भन्ने कुरा नि सोचे।

अन्त्यमा यो पनि सोच्न बाध्य भए कि जे हुनु भैसक्यो, बितेको कुरा फर्किदैन। अब कसरी मैले फेस गर्ने भनेर एकछिन घोत्लिए। यतिकैमा बहिनीलाई फोन गरेर मेरो पिसिआर रिपोर्टबारे सुनाए। बहिनीले नी फोनबाट मलाई धेरै कुरा सम्झाईन। बहिनीले नि हस्पिटल जानेबारेमा थप सल्लाह दिइन। त्यसपछि झोलामा २ जोर कपडा, टावेल, सेनिटाईजर, मास्क हाले। झोलाको चेन लगाउँदै थिएँ, यतिकैमा मलाई कोरोना पोजिटिभ भएको जानकारी दिने सहकर्मी सरको फोन फेरि आयो , मैले ढिला नगरी फोन उठाएँ।

हेलो।
सहकर्मी सरः सर तयारी हुनुभोरु
मः हजुर सर। हस्पिटलतिर हिड्ने तर्खरमा छु।
सहकर्मी सरः ल ल सर छिटो गर्नुहोस्। अरु साथीहरु अघि नै हिडिसके। अब हस्पिटल पुग्छन् होला। अब तपाईं नि हिड्नुस् है।
मः हवस सर ।

हतपत झोला समाएर छोरो र श्रीमतीलाई तिमीहरु सुरक्षीत रहनु, मलाई केही हुँदैन, म छिट्टै कोरोनालाई पराजित गरेर अर्को पटक मेरो स्वावको पीसीआर परिक्षण गर्दाको निगेटिभ रिपोर्ट ल्याएर घर फर्किनेछु भन्दै म श्रीमती र छोरोबाट बिदाई भएँ ।

म भाडामा बस्ने घरबाट निस्किने बित्तिकै बहिनीलाई म निस्के है भनेर फोन गरे। बहिनिको घर नजिक पुगेर घरतिर हेरे । बहिनी झ्याल खोलेर बाहिर हेरीरहेकी थिइन किनकी उनी पनि मेरो प्रतीक्षामा थिईन। म रोडमा उभिएर र बहिनी झ्यालबाट बाहिर टाउको निकालेर दुबैजनाले एकछिन गफ ग¥यौ। बहिनीले मलाई कत्ती पिर नलिनुहोला सबै ठिक हुन्छ भनिन । हुन्छ भन्दै बहिनीलाई पनि बिदाईका हात हल्लाउँदै म हस्पिटलको बाटोतिर अगाडि बढे।

बाटोमा एक्लै हिडिरहँदा मेरो मनमा अनेक कुराहरु खेल्न थाले। ‘जीवनमा मैले लगायत सबैले कोरोना भाइरसको नाम पहिलोचोटि सुन्नुपर्‍यो। पहिलो चोटि सुनेको कोरोनाको नाम नाममा मात्र सीमित भएन, यसको आकार देखियो ‘डरलाग्दो काँडे बलजस्तो’ आकार भन्दा डरलाग्दो यसको असर पनि देखियो र अन्तमा अहिले आफू पनि संक्रमितको सिकार भईयो।

हुनत म मात्र होइन कति विदेशी अनि नेपाली संक्रमित छन्। कति धेरैले त ज्यान गुमाईसके, कती धेरै निको पनि भैसके। देखेको होइन लेखेको हुन्छ भन्छन्। तैपनि अब मैले आत्मबल उच्च राख्नैपर्छ। यस्तै यस्तै सोच्दै म हस्पिटलको गेट नजिक पुगे। गेट्पालेको मदतले म भित्र छिरे। एकजना सिस्टरले टाढैबाट भन्नुभयो, ए भाइ त्यो सामान लिएर माथी चौथो तल्लामा जाउ है।

मैले हुन्छ सिस्टर भन्दै त्यो सामान बोकेर सिढी चढ्न थाले । मनमा थोरै आशा र थोरै चिन्तालाई मनको तराजुमा तोलिदै चौथो तल्लामा पुगेको नि पत्तै पाईन। चौथो तल्लामा पुगेपछी एकजना सरलाई फोन गरे अनि सर लिन आउनुभो मलाई। भित्र आइसोलेसन वार्डमा लिनुभयो। अरु सहकर्मी सरहरुसँग नि भेट भयो। म मात्र छैन, मजस्तै धेरै छन जस्तो लाग्यो अनि मनमा हौसलाको प्रतिशत केही हदसम्म बढेर नि आयो। सरले एउटा खाली शैया देखाउनुभो। मैले त्यो शैयामा ओछ्यान लगाए।

त्यसपछि ओछ्यानमा पल्टिए र अरु सरहरुसँग आआफ्नो शैयाबाट गफगाफ पनि भयो। आईसोलेसन वार्डमा टाढाटाढा बेडहरु राखिएका छन्। म भएको वार्डमा मसँग संक्रमित भएका मेरा ५ जना सहकर्मी सरहरु र एकजना अर्को भार्इ गरेर जम्मा ७ जना छौँं। ओढ्ने र ओछ्याउनेको व्यवस्था छ। संक्रमित व्यक्तिहरुलाई घुलमिल गर्न दिईएको छैन।

यसमा हामी पनि सचेत हुनैपर्छ। बिहान ७ बजे खाजा, बिहान १० बजे खाना, दिउँसो २ बजे खाजा र बेलुका ७ बजे बेलुकाको खानाको व्यवस्था गरिएकोछ। आइसोलेसन वार्ड कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएकोले पानी, ट्वाईलेट अनि बाथरुमको व्यवस्था राम्रैछ।

तर अरु बिरामी र कोरोनाको बिरामीमा धेरै अन्तर रहेछ। अरु रोग लाग्दा कमसेकम एकजना कुरुवा हुन्थे, धेरैजना आफन्त भेट्न आउथे, डाक्टर चेकजाँच गर्थे, नर्सहरु औषधिसमेत खुवाउन आउथे तर कोरोनाको रोगी हुँदा आफू नितान्त एक्लै बस्नुपर्ने, न औषधि न डाक्टर वा नर्स। हामीलाई खाना दिदा पहिला पहिला गाउँघरतिर कुष्टरोगीलाई दिए जस्तो गरि दिनुपर्ने र हामीले खानुपर्ने अवस्थाछ।

यो कोरोना भाइरसको औषधी नभएर र नजिक सम्पर्कमा आउँदा सर्ने डरले यस्तो परिस्थिति सिर्जना भएको हो। जुन हामीले स्वीकार्नै पर्छ। स्वीकारेका पनि छौ। यो हामी सबैको भलाईको लागि हो। आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर हामीलाई सेवा गर्ने स्वास्थ्यकर्मीहरुलाई हामीले धन्यवाद दिनै पर्छ । यसमा सरकारहरुको प्रयासलाई पनि सरहनीय मान्नुपर्छ।

आजभोलीको मेरो दिनचर्या फेसबुक चलाएर, युट्युबमा म्युजिक भिडियो र सिनेमा हेरेर, अरु संक्रमित सरहरुसँग गफगाफ गरेर र आफन्तहरुसँग मेसेन्जेर भिडियो कलिङ, च्याटिङ र फोन गरेर बितिरहेकोछ। यी क्रियाकलापहरुले म कोरोना संक्रमित हुँ भन्ने कुरालाई केही हदसम्म भूलाईदिएको पनि छ। यधपी मान्छेको सोचाईको स्तर परिस्थिति अनुसारको हुने रहेछ।

कुनै काममा लाईन बस्दा पालो छिटो आईदिए हुन्थ्यो, बाटोमा यात्राको क्रममा पानी प्यास लाग्दा पानीभएको ठाउँ छिटो पुग्न पाईदिए हुन्थ्यो, काममा जाँदा छिट काम सकाउन पाए हुन्थ्यो, मान्छेलाई थोरै सुख हुँदा अझै धेरै सुख पाउन पाईदिए हुन्थ्यो , ठूलो दुःख पर्दा यो दुःख थोरै कम भैदिएको भए हुन्थ्यो, रोग लाग्दा छिटो निको भैदिए हुन्थ्यो, बिरामीको घाउ दुख्दा घाउको दुखाई कम भैदिए हुन्थ्यो, यस्तै, यस्तै।

म पनि अहिले कोरोना संक्रमित भएकोले मेरो सोचाई अरु केही पनि छैन, छ त एउटै सोच अर्को पटकको पिसिआर तभकत निगेटिभ आओस । म छिट्टै निको भएर घर फर्कुँ । फेरि मैले साधारण जीवन व्यतीत गर्न सकुँ। भगवान, सबै देविदेवतासँग पनि यहि प्रार्थना गर्दछु। आमाबुवा, दाजुहरु,भाउजूहरु, दिदिबहिनीहरु लगायत सम्पूर्ण आफन्तजन, शुभचिन्तक साथीहरुको आशीर्वाद र मायाले पनि मलाई साथ दिनेछ भन्नेमा म विश्वस्त छु।

अन्तमा सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाई मेरो सन्देश के छ भने जो मजस्तै संक्रमित हुनुहुन्छ सबैले उच्च आत्मबल राख्नुस जुन मैले राखिरहेकोछु। जो अहिलेसम्म सुरक्षीत हुनुहुन्छ उहाँहरुलाई पनि नेपाल सरकार , प्रदेश सरकार र स्थानीय तहका सरकारबाट कोरोना भाइरसबाट बच्नको लागि जारी सन्देशहरुको पालना गरौं , लापरबाही नगरौ भन्न चाहन्छु।