सीपीएल: ट्रिनबागो र जुक्सको लगातार तेस्रो जित



काठमाडौँ। ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा लगातार तेस्रो जित हात पारेको छ।

कप्तान किरण पोलार्ड कोलिन मनरो र डारेन ब्राभोले उत्कृष्ट ब्याटिङ गरेको खेलमा ट्रिनबागोले साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सलाई १९ रनले पराजित गरेको हो। यस्तै सेन्ट लुसिया जुक्सले पनि गायनालाई हराएर लगातार तेस्रो जित हात पारेको छ। लगातार ३ खेल जितेको ट्रिनबागो ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । ट्रिनबागो यस सिजन अपराजित एक्लो टिमसमेत हो । साविक विजेता बार्बेडोसको भने यो लगातार दोस्रो हार हो । ३ खेल खेल्दा बार्बेडोसले एक खेल मात्र जितेको छ ।

ट्रिनबागोले दिएको १८६ रनको लक्ष्य पछ्याएको बार्बेडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । ओपनर जोहनसन चार्ल्सले अर्धशतक प्रहार गरेपछि बार्बेडोसले लक्ष भेट्न सकेन । चार्ल्सले ३३ बल खेल्दै ४ चौका ३ छक्का मद्दतमा ५२ रन बनाए । यस्तै अर्को ओपनर शाई होपले ३६ रन जोडे । कप्तान ज्यासन होल्डरले अविजित ३४ रन बनाए । एस्ले नर्सले २१ रन जोडे ।

त्यअघि ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा पहिले ब्याटिङ गरेको ट्रिनबागोले २० ओभरमा ३ विकेट गुमाएर १८५ रन बनाएको थियो । ट्रिनबागोका लागि कोलिन कनरो र डारेन ब्राभोले अर्धशतक प्रहार गरे । मनरोले ३० बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५० रन बनाए ।

यस्तै डारेन ब्राभोले अविजित ५४ रन जोडे । उनले ३६ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान पोलार्डले आक्रमक ब्याटिङ गर्दै अविजित ४१ रन बनाए । उनले १७ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे । ओपनर लेन्डन सिमोन्सले २१ रन जोडे । यसअघि लगातार दुई अर्धशतक प्रहार गरेका सनिल नारिन भने ८ रन बनाएर आउट भए ।

जुक्सको रोमाञ्चक जित

पहिलो खेलमा पराजित भएपनि लगातार तेस्रो जित हात पार्ने क्रममा सेन्ट लुसिया जुक्सले गायाना अमेजन वारियर्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जुक्सले रोस्टन चेसको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेसले ६६ रन बनाए । यस्तै मोहम्मद नावीले २७ रन योगदान गरे । गायानाको इमरान ताहिरले ३ र ओडेन स्मिथले २ विकेट लिए ।

जवाफमा निकोलस पुरनले अर्धशतक प्रहार गरेपनि गायानाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । गायनाका लागि पुरनले सर्वाधिक ६८ रन बनाए । तर अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा यस सिजन दोस्रो हार बेहोरेको छ ।

जुक्सका लागि स्कट कुगेलाइनले ३ तथा केमार होल्डर केसरिक विलियम्सले २(२ विकेट लिए । गायानालाई हराएर लगातार तेस्रो जित हात पारेको जुक्सले ४ खेलबाट ट्रिनबागो समान ६ अंक नै जोडेको छ । तर रनरेटमा ट्रिनबागो अघि रहँदै पहिलो स्थानमा छ भने जुक्स दोस्रो स्थानमा छ । ४ खेलबाट ४ अंक नै रहेको गायना तेस्रो स्थानमा छ ।