नाभाल्नीलाई उपचाको लागि साइबेरियाबाट जर्मनी पुर्‍याइयो



एजेन्सी। गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पुर्‍याइएको छ।

हाल अचेत अवस्थामा रहेका उनले पिएको चियामा विष घोलिएको उनका समर्थकहरूको आशंका छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएसँगै जर्मन चान्सलर एंगेला मर्कलले नाभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न जर्मनी तयार रहेको बताएकी थिइन् ।

ओम्स्कमा नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले अन्यत्र लैजानका लागि अनुमति दिएका थिइनन् । तर पछि नाभाल्नीको अवस्था स्थिर रहेको बताएसँगै उनकी पत्नी युलियासहितको टोलीले उनलाई जर्मनीको बर्लिन पुर्‍याएको हो ।

नाभाल्नीको उपचारमा संलग्न प्रमुख चिकित्सकले उनलाई आफूहरूले हवाई यात्राका लागि सिफारिस नगर्ने बताएका थिए । तर उनकी पत्नीले जर्मनीस्थित अस्पतालमा लग्नुपर्नेमा जोड दिएपछि उडान अनुमति दिइएको बताइएको छ ।

उनको उडानको खर्च जर्मनीको गैरसरकारी संस्था सिनेमा फर पिसले व्यहोरेको बीबीसीले जनाएको छ । नाभाल्नी मस्को फर्कंदै गर्दा बिहीबार विमानमा अचानक बिरामी परेका थिए । लगत्तै उनी सवार विमानलाई आपत्कालीन अवतरण गराइएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा उडान अघि विमानस्थलमा उनले एउटा कपमा केही पिउँदै गरेको देखिन्छ । उनको टोलीका अनुसार नाभाल्नीले चिया पिएका र त्यसमा विष हालिएको आशंका गरेका हुन् ।

कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ । चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको संकेत गरेका छन् । त्यसपछि उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूको भनाइ छ ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो।