‘युवाहरु सामाजिक सञ्जालमा अनेक कुराहरु लेख्नमा छन्’



काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम र नियन्त्रणको क्षेत्रमा युवाको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिएका छन्।

कोरोना सम्बन्धि सामाजिक सचेतना जगाउनेदेखि मानिसहरूबीच सामाजिक दूरी कायम गराउँदै निको भएर घर आएकालाई समाजमा पुनर्स्थापना गर्नेतर्फ पनि युवाको भूमिका आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाई छ।

राष्ट्रिय युवा परिषद र युवा गैर सरकारी संस्था महासंघको संयुक्त भर्चुअल छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘कोरोना महामारीले युवा वर्गमाथि चुनौती थपिएको छ। तर, यस्तो अवस्थामा युवाको भूमिका अपेक्षाकृत छैन।

हाम्रा लागि ठूलो चुनौती छ र यसलाई सामना गर्न युवाको भूमिका के हुने ? आफू चर्चामा आउन सामाजिक सञ्जालमा आफू केन्द्रित अनेकन लेख्ने र बस्ने मात्रै देखेको छु, जो हाम्रो अपेक्षा होइन।’

छलफलमा इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले युवाको भूमिका कोरोना रोकथाम तथा नियन्त्रणमा विलकुल अनुचित भएको बताइन्। महामारीको बेला गम्भीर भएर रोकथाम र नियन्त्रणका लागि सामाजिक सचेतना जगाउनु पर्नेमा अराजक र उत्तेजना फैलाउने मात्रै देखिएको बताइन्।

कोरोना संक्रमणपछि ‘होम आइसोलेसन’मा रहेका प्रभाकर गुप्ताले पनि एकपटक कोरोना देखिएर निको भएकाहरूको सामाजिक पुनर्स्थापनामा सचेतनामूलक अभियान युवा वर्गले चलाउनु पर्नेमा जोड दिए।

छलफलमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले भने युवाको क्षेत्रमा विनियोजित बजेटसहितको कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा उपलब्धीहिन भएको बताएका थिए। युवा गैर सरकारी संस्था महासंघ नेपालका अध्यक्ष नारायण गिरीले कार्यक्रम सञ्चालन गरेका थिए।