कर्णाली प्रदेश: वितेको २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिए



जुम्ला। वितेको २४ घण्टामा कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, दैलेख अस्पतालमा दुई जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परिक्षणमा ६ जनामा संक्रमण देखिएको हो।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले रुकुम पश्चिममा ६ जना, सुर्खेत, दैलेख र जुम्लामा दुई–दुई जना, नवलपरासी पूर्व, बाँके र बर्दियामा एक–एक जनामा संक्रमण देखिएको जानकारी दिए। योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार दुई सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन्। योसँगै हाल सम्म कर्णालीमा संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार नौ सय ६९ पुगेको छ।

कुल संक्रमण पुष्टी भएका मध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने दुई सय ६५ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसनमा रहेका छन्।