उदयपुर। जिल्लाको कटारी नगरपालिका र ट्रिपर व्यवसायीहरुको लापर्वाहीका कारण कोरोना संक्रमणको जोखिम बढेको छ।
स्थानीयका अनुसार नगरपालिका क्षेत्रमा दैनिक दुई सयको हाराहारीमा सञ्चालन भैरहेको ट्रिफरका कारण संक्रमणको जोखिम बढेको हो।
नगरपालिकाले नगरपालिका क्षेत्रमा सवारीसाधनमा जोर विजोेर प्रणाली लागू गरेको भए पनि ट्रिफर सञ्चालकहरुले उक्त नियम लागू गरेका छैनन्।
कटारी नगरपालिकाका आसपासका सवैै स्थानीय तहले कडाईका साथ लकडाउन गरेको भए पनि कटारी नगरपालिका क्षेत्रमा भने प्रभावकारी हुन सकेको छैन। कटारी नगरपालिकाका क्षेत्रसँग सीमा जोडिएको सिरहाको मिचैया नगरपालिकामा संक्रमणको दर बढिरहेको छ। मिर्चैयामासमेत संक्रमणका कारण लकडाउन छ।
तर, पनि कोरोना प्रभावित क्षेत्रबाट रातारात ट्रिपर कटारी बजार भित्रिरहेका छन्। जसका कारण ट्रिपर चालक र सहचालकका माध्यमबाट संक्रमण सर्ने जोखिम बढेको स्थानीयको भनाई छ।
उनीहरु कटारीमा समुदायमा घुलमिल भईरहेको स्थानीय बताउँछन्। ट्रिपर व्यवसायीले कटारी नगरपालिकाको वडा नम्बर ८ स्थित थलियाबाट कटारी ४ को बजार क्षेत्रमा चुनढुंगा ढुवानी गरिरहेका छन्। निर्वाध रुपमा सवारी संञ्चालन गरेका उनीहरुले संक्रमणबाट बच्न सर्तकता पनि अपनाएका छैनन्।
कोरोना संक्रमणका वेला अत्यधिक सवारीसाधन संञ्चालन गरेका व्यवसायीहरुले संक्रमण बढाउने जोखिम बढेको भन्दै सामाजिक संञ्जालमा व्यापक गुनासो आएपनि सरोकारवाला निकाय भने मौन रहेको छ।