‘सीसीएमसी’ विचौलियाहरुको क्रिडास्थल बन्यो: रञ्जित तामाङ



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) ताण्डव देखाउने विचौलियाहरुको क्रिडास्थल बनेको टिप्पणी गरेका छन्।

सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा गठित कोभिड-१९ रोकथाम, नियन्त्रण र उच्चस्तरीय समन्वय समिति साढे तीन महिनामै विघटन गरेर (सीसीएमसी) गठन गरिएको थियो। उक्त समितिले पनि महामारीको बेलामा उलेख्य काम गर्न नसकेको भन्दै चौतर्फि आलोचना भइरहेका छन्।

यसै क्रममा सहसंयोजक तामाङले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओम्नि मार्फत स्वास्थ्य सामाग्रीमा ठूलो आर्थिक चलखेल, त्यसपछि सेना मार्फत औषधि खरिदपछि देशको सेनालाई नै बिबादित गराउने काम हुँदै एयरपोर्टमा कुरेका नेपालीलाई छाडेर खाली हवाईजहाज फर्काउने काण्डसम्म आउँदा सीसीएमसी भनेको ताण्डव देखाउने बिचौलियाहरुको क्रिडास्थल बन्यो।’

उनले गैरजिम्मेवारपूर्ण कार्य गर्ने समितिलाई खारेज या नेतृत्व परिर्वतन गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘हचुवाको भरमा गैरजिम्मेवार हरकत गर्ने सीसीएमसी कि खारेज गर, कि नेतृत्व परिबर्तन गर।’

उच्चस्तरीय समन्वय समितिले गर्दै आएका काम र उसको जिम्मेवारी कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा काम गर्नका लागि गत जेठमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलकै संयोजकत्वमा गठित (सीसीएमसी) मा सारिएको थियो।