काठमाडौँ। विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा गएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताएका छन्।
४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए। उनले भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका छन्। उनी आन्तरिक उडानका क्रममा हवाई जहाजभित्रै बेहोस भएका थिए। त्यसपछि उनी सवार हवाई जहाजलाई आपतकालीन अवतरण गराएर अस्पताल लगिएको थियो।
नभाल्नीका समर्थकहरुले नभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको आशंका गरेका छन्। विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको उनीहरुको आशंका छ।
यसैबीच जर्मनी र बेलायतले नभाल्नीको स्वास्थ्य र उनलाई विष खुवाइएको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन्। जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताएकी छन्। नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ।
राष्ट्रपति पुटिनका प्रवक्ताले पनि नभाल्नीको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लैजान अनुमति दिइने बताएका छन्। यसैगरी बेलायतका विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारले आफूलाई चिन्तित बनाएको बताएका छन्।