सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाका कारण प्रदेश स्थापना दिवस भव्य रुपमा मनाउन नसकिएको स्पष्ट पारेका छन्।
बिहीबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। साथै उनले कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवनको पर्वाह नगरी आन्दोलनको अग्रमोर्चामा लड्दा लड्दै सहादत प्राप्त गर्ने महान सहिदहरु, घाइते योद्धाहरुप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना एवं आन्दोलनमा सरिक हुनुभएका आम जनसमुदायलाई सम्मानकासाथ स्मरण गरेका छन्।
उनले भने, ‘कर्णाली प्रदेशको पहिचानलाई अमर बनाउनका लागि आफ्नो जीवन आहुती दिने सहिद, राजनीतिक दल, नागरिक समाज, पत्रकार, आम नागरिकहरुलाई विशेष रुपमा सम्झिन चाहन्छु। यस प्रदेशको फरक पहिचान र अस्तित्व थियो। संघीयता लागु गर्ने क्रममा कर्णाली क्षेत्रलाई सुदूरपश्चिममा गाभ्ने असमान, अव्यबहारिक र अवैज्ञानिक निर्णयलाई खारेज गर्न कर्णाली जिल्लाहरु मात्रै नभएर काठमाडौंसम्म आन्दोलन भए। संसद र सडक संघर्षबाट निमार्ण गरिएको कर्णाली प्रदेश हो। प्रदेश स्थापनाका क्रममा ज्यानको बलिदान दिनुहुने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दछु।’
उनले अगाडि भने, ‘आन्दोलनका क्रममा विभिन्न दिनमा सहिदरुहले जीवन बलिदान गर्नु भएपनि अन्ततः प्रदेश स्थापना भएको दिनलाई प्रदेश स्थापना दिवस र सहिद दिवस मनाउने निर्णय गरिएको हो। आजको दिनलाई विशेष दिनका रुपमा मनाउने सोच थियो। तर, महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण यसपालि यतिमा सिमित भयो।’
उनले कोरोना संक्रमणबाट कर्णाली प्रदेशलाई जोगाउने कुरामा प्रदेश सरकार प्रयासरत रहेको बताउँदै आम नागरिकहरुलाई साथ दिन आग्रह गरे। उनले भने, ‘पछिल्लो समयमा नयाँ प्रकृतिको लक्षणसहितका बिरामी देखिएका कारण समूदायस्तरमा पुग्ने सम्भावना हुन्छ। पहिलेको भन्दा अझै शसक्त भएर, सचेत र कडाईकासाथ प्रस्तुत हुनुपर्नेछ। अरु प्रदेशभन्दा हामीले उच्च सतर्कता अपनाउन सकियो भने कम क्षती हुन सक्छ। २१ दिनसम्म जनता र सरकारले दुख गर्ने हो भने विज्ञहरुका अनुसार भारस अन्यत्र सर्दैन भन्नेछ। यसमा हामीले किन दुःख नगर्ने।’