सुर्खेत। कर्णाली प्रदेशमा एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदसहित ४३ जनामा कोरोना पुष्टि भएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि कोरोना पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको हो।
सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १७, सुर्खेतका १०, दैलेख, डोल्पा र कास्कीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १७ जना, सुर्खेतको चौकुने गाउँपालिकाका चार वर्षीया बालिकासहित चार जना, वीरेन्द्रनगर नगरपालिकाका छ जना, दैलेखको दुल्लु नगरपालिकाका एक जना, डोल्पाको जगदुल्ला गाउँपालिकाका एक जना र कास्कीको मादी गाउँपालिकाका एकमा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै जुम्लामा गरिएको परीक्षणका क्रममा जुम्लामा नौ जना, दैलेखका तीन जना र बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका दुई वर्षीय बालकसहित तीन जना, जुम्लाको हिमा गाउँपालिकाका आठ जना, सिंजा गाउँपालिकाका एक जना र बाँकेको बैजनाथ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।