नेकपाका नेता बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या गर्ने काम भयो’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मुगु जिल्लाका इन्चार्ज एवं प्रतिनिधि सभा सांसद मोहन बानियाँले आफूमाथि लागेको आरोप सरासर गलत भएको तर्क गरेका छन्।

कर्णाली सन्देशमा यसभन्दा अघि प्रकाशित ‘नेकपाका सांसद बानियाँको अश्लिल हर्कत बाहिरियो’ शीर्षकको समाचारलाई लिएर सांसद बानियाँले आफूमाथि षड्यन्त्र पूर्वक चरित्र हत्या गर्न खोजिएको दाबी गरेका छन्।

उनले कर्णाली सन्देशसँग भने, ‘३९ वर्षे राजनीतिक जीवनमा मैले कसैलाई पनि नराम्रो दृष्टिले हेरिन। मानव हो सानातिना भूलहरु भए होलान्। त्यो आफ्नो ठाउँमा छ। तर, जुम्लाकी शान्ति शाहीसँग मेरो कुनै अनैतिक सम्बन्धका हिसाबले फेशबुकमा बोलिएको पनि होइन। कहिलेकाँही बोलचाल हुन्थ्यो। राम्रै सम्बन्ध हो। यसरी एक्कासी सामाजिक सञ्जालमा आएर लेखेको देख्दा मलाई पनि आश्चार्य लागेको छ।’

जुम्ला, हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै आफ्नो ज्यान लिने अवस्थामा पुर्याएकोसमेत आरोप लगाएकी थिइन्। अश्लिल तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लगाएकी छन्।

उल्लेखित आरोपको बारेमा तपाईंको धारणा के छ ? भनेर सोधिएको प्रश्नको जवाफमा सांसद बानियाँले भने, ‘यो सरासर झुटो ओरोप हो। ममाथि षड्यन्त्र भएको छ। कर्णालीका जनताको लागि राजनीतिक गरेको र जीवनभरको लगानी गरेको मान्छेले कर्णालीकै एउटा चेलीमाथि पदको दुरुपयोग गर्नपर्ने के कारण हुन्छ? त्यसैले उहाँलाई एकचोटी आफूले लेखेको कुराका बारेमा पुनर्विचार गर्न अनुरोध गर्छु।’

यता जुम्लाको हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत विद्यालयकी प्रध्यानाध्यापकसमेत रहेकी शाहीले आफुलाई निरन्तर अनावश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेको र त्यहि मेसेजका कारण श्रीमानले आफूलाई तनाव दिन थालेको बताएकी छन्।