पहिरो पीडितलाई कांग्रेस नेता शाहीद्वारा सहयोग प्रदान



कालिकोट। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जिल्लाको शुभकालिका गाँउपालिका वडा नम्बर ६ हाउडीका पहिरो पीडितलाई सहयेग गरेका छन्।

मंगलबार जिल्ला सदरमुकाम मान्ममा कांग्रेस युवा नेता शाहीले हाउडीका खसेको पहिरोका कारण बिस्थापित भएका ६ परिवारलाई पाल, कम्मल, खाद्य सामग्री र केही नगद सहयोग गरेका हुन्।

उनले पहिरोका कारण घरबार बिहीन भएका हाउडीका ६ घरधुरीलाई मानवियताका हिसावले व्यक्तिगत रुपमा सहयोग गरेको बताए। वर्षा याम सुरु भएयता धेरै नागरिकहरुले धनजनको क्षती व्यहोर्नु परेकोमा दुःख व्यक्त गर्दै उनीहरुलाई तत्काल राहत दिन सरकारको ध्यनाकर्षण गराए।

हाउडीमा वर्षेनी पहिरो जाँदा एक सय ७६ घरधुरीहरु जोखिममा छन्। २०७२ सालदेखी वर्षेनी पहिरो खस्दा हाउडीका २२ दलित घरधुरी सहित १ सय ७६ घरधुरीहरु जोखिमयुक्त ठाँउमा बस्दै आएका छन्। गत वर्षको साउन महिनामा लगातार पहिरो खसेर १५ दिन घर छोडेर खुला चौरमा पाल टाँकेर बसे। गाँउलाई स्थायी रुपमा सुरक्षित ठाँउमा सार्नका लागि आग्रह गरिएको भए पनि सारिएन्।

यो वर्ष पनि फेरी निरन्तर पहिरो खसीरहेको छ। स्थानिय भैरब शाहीको घर पुरै पहिरोले परिदिएको छ। अरु पाँच जना मनशोभा शाही, सरिता शाही, मधु नेपाली, बलबहादुर शाही र सरस्वती शाहीको घर पहिरोले छोयकाले बिस्थापित छन्।

पहिरोले गाँउका करीव २७ जनाको खेती योग्य जमीन पुरै पुरिएको छ। पहिरोमा घर पुरिएपछि बिस्थापित भएका भैरब शाहीले भने, ‘हाउडीको बस्ती पहिरोका कारण पुरै जोखिममा छ। मेरो घर पुरै पुरियो। गाईबस्तु, अन्न, भाँडाकुडा गरी करीव २२ लाख बराबरको क्षती भयो। अहिले लेकतिर छिमेकीसँग पैचो मागेर छाक टार्नु परेको छ। गाँउका अरु पाँच जनाको घर पनि पहिरोले छोएकाले उनीहरु पनि बिस्थापित छन्।

यस्तै हाउडीका पहिरो पीडित बलबहादुर शाही, मधु नेपालीले हाउडीको पहिरोको स्थायी रुपमा व्यवस्थापन नगरी गाँउलाई नै सुरक्षित स्थानमा सार्नुपर्ने बताए।

उनीहरुले भने, ‘नागरिक तहबाट बर्षेनी पहिरोको स्थायी रुपमा रोकथाम गरी बस्तीलाई सुरक्षित बनाईयोस् भने माग गर्दै आएका छौँ। यदी पहिरो रोक्न नसकिने अवस्था हो भने गाँउलाई नै अन्यत्र स्थानान्त्रण गर्नेका लागि आग्रह गरेका छौँ। कसैले पनि सुनिदिएनन्। हामीले कहिलेसम्म पहिरोको त्रासमा बाँच्नुपर्ने हो।’ पहिरोबाट भएको क्षेती अनुसार राहत र गाँउलाई नै सुरक्षित स्थानमा सार्नका लागि प्रशासनमा पनि आग्रअ गरिएको उनीहरुको भनाई छ ।