कोहलपुरमा भदौ ५ गतेसम्म निषेधाज्ञा



कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले आगामी भदौ ५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ।

बाँकेमा कोरोना संक्रान्तिको संख्या बढिरहेको र कोहलपुर नगरक्षेत्रमा समेत समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हुँदा नगरप्रमुखको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले भोलि साउन ३२ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो।

बैठकले नगरपालिकाको कार्यालय, नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरू, नगरपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरू, बैंक तथा वित्तिय संघसंस्था, होटल, रेष्टुरेन्ट, व्यापार व्यवसाय, उद्योग कलकारखाना तथा तरकारी हाटबजारहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

निजी तथा सार्वजनिक सवारीसाधन चल्न पाउने वा नपाउने भन्नेबारे केही खुलाईएको छैन। बाँके जिल्ला प्रशासनले गत साउन १७ गते राती १२ बजेदेखि जारी गरेको निषेधाज्ञा हिजो ३० गते रातीदेखि खुलेको थियो।